वैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनको प्रचार प्रसारको क्रममा उम्मेदवारहरुले निर्वाचन आचारसहिंताको उल्लङ्घन गर्दै सार्वजनिक स्थल, हाट बजार, चोक, मठमन्दिर, पार्क लगायतको ठाउँहरुमा झण्डा र चुनाव चिन्ह अङ्कित ठूलठूला व्यानरहरू झुण्ड्याएको इन्सेक जिल्ला प्रतिनिधिहरुले वैशाख २० गते गरेको अनुगमनका क्रममा पाइएको छ ।
सप्तरी जिल्ला प्रतिनिधि मनोहर पोखरेलका अनुसार निर्वाचन आचारसंहिता विपरित राजविराज नगरपालिका–७ स्थित गजेन्द्र चोक, सहिद दशन चोक, अस्पताल, कार्यालयलगायत नगरभित्रका सार्वजनिक स्थानहरुमा राजनीतिक दलहरुले पार्टी झण्डा तथा निर्वाचन चिन्ह अङ्कीत पोष्टरहरु टाँसेका छन् ।
निर्वाचन आचारसंहिता, २०७८ को परिच्छेद ४ को दफा १२ (ज) मा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने उल्लेख छ ।
आचारसंहिताविपरित जनमत पार्टी र जनता समाजवादी पार्टी नेपालले डिजे साउण्ड र माइक गाडीमा हालेर चुनाव प्रचार गरिरहेका छन् । अधिकाँश दलहरुले कानुनले तोकेभन्दा बढी सङ्ख्या र ठूलो आकारको झन्डा, ब्यानर, ब्याचलगायत प्रचार सामग्री प्रयोग गरिरहेका छन् ।
आचारसंहितामा दलको झण्डा वा उम्मेदवारको चिन्हको तोरण बनाई प्रदर्शन गर्न, गराउन नहुने, निर्वाचन चिन्ह अंकित क्याप, ज्याकेट, कमिज, मास्क, लकेट, झोला र कुनै पनि पहिरन प्रयोग गर्न नहुने भनेको भए पनि त्यसको पालना भएको छैन ।
सप्तरीमा उम्मेदवारहरुले चुनाव प्रचारप्रसारका लागि आचारसंहिताविपरीत पार्टीका ठूलाठूला झन्डा, फ्लेक्स ब्यानर र तोरण जताततै झुण्ड्याएका छन् । निर्वाचन आचारसंहिता, २०७८ को दफा १२ (ड) र (ढ) ले उम्मेदवारको कार्यालय बाहेकका स्थानमा ३ फिट लम्बाइ र ३ फिट चौडाइ भएको दलको झन्डा र चुनाव चिह्न राख्न नपाइने भनेको छ ।



धनुषा प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहका अनुसार स्थानिय तहको निर्वाचनको प्रचार प्रसारको क्रममा उम्मेदवारहरुले निर्वाचन आचारसहिंताको उल्लङ्घन गरेका छन् । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिताको उल्लङ्घन गर्दै प्रायःजसो सबै दल तथा स्वतन्त्र उम्मेदवारहरुले सार्वजनिक स्थल, हाट बजार, चोक, मठमन्दिर, पार्क लगायतको ठाउँहरुमा राजनीतिक दलको झण्डा र चुनाव चिन्ह अङ्कित ठूलठूला व्यानरहरू झुण्ड्याएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको जानकी चोक, जनकचोक, भानुचोक, पिडारीचोक, पुलचोक, मुरलीचोक, रामानन्दचोक, देवीचोकलगायत शहरी एरियादेखि ग्रामिण एरियामा उम्मेदवारहरुले पार्टी र चुनाव चिन्ह प्रयोग गरि प्रचार प्रसारमा लागेका छन् ।
क्षिरेश्वरनाथ नगरपालिका, बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका लगायत धनुषाको १८ ओटै स्थानिय तहमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहित विपरित उम्मेदवारहरुले शहरी क्षेत्रदेखि गल्ली गल्लीमा झण्डा लगायत प्रचारप्रसार सामाग्रीको प्रयोग गरेको देखिन्छ ।
बटेश्वर गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत उद्धव ढोढारीले बटेश्वरमा उम्मेदवारहरुले निर्वाचन आचारसंहित विपरित प्रचारप्रसार सामाग्री, पर्चा, पम्पलेट, ब्यानर लगायतका सामाग्री प्रयोग गरेको जनगुनासो आएपछि दलका प्रतिनिधीहरुलाई बोलाएर यस्तो नगर्न नगराउन छलफल गरिएको बताउनु भयो ।
जनकपुरधाम उपमहानगरपालिकाका मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलले निर्वाचन आचारसंहिता विपरित उम्मेदवारहरुले सार्वजानिक स्थलमा लगाएको प्रचार प्रसार सामाग्री प्रहरीले कब्जा गर्दै हटाउने अभियानमा लागेको बताउनु भयो ।
धनुषाको ढल्केबरस्थित सार्वजनिक स्थानमा झुण्ड्याइएको राजनीतिक दलको झण्डा हटाइएको छ । मिथिला नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयले प्रहरीसँग समन्वय गरेर ढल्केबरस्थित शहीद पार्कको चारैतिर झुण्ड्याइएको विभिन्न राजनीतिक दलका झण्डा हटाइएको हो ।
निर्वाचन अधिकृत दीपक धितालले निर्वाचन आचारसंहित विपरित सार्वजनिक स्थानमा राखिएको झण्डाहरु हटाइएको बताउनु भयो । सशस्त्र, जनपद र म्यादी प्रहरीसँग समन्वय गरेर सो झण्डाहरु हटाइएको जानकारी दिनु भयो ।
यसैबिच निर्वाचन अधिकृतको कार्यालयले जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुखका स्वतन्त्र उम्मेदवार मनोज साहलाई प्रदान गरिएको निर्वाचन चिन्ह घण्टाघर नमुना मतपत्रमा नरहेको भन्दै साह लगायत उनका समर्थकहरुले विरोध जनाउँदै निर्वाचन कार्यालय अगाडि वैशाख २० गते धर्नामा बसेका छन् ।
नमूना मतपत्रमा आफुले पाएको चुनाव चिन्ह नरहेको भन्दै नेपाली काँग्रेसबाट बागी भएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका साहलाई नमुना मतपत्रमा घण्टाघर निर्वाचन चिन्ह राख्ने निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले लिखित सम्झौता गरेपछि धर्ना अन्त्य गरेका हुन् ।
साहले निर्वाचन आयोगको अधिकारीक वेबसाइटमा अपलोड भएको नमूना मतपत्रमा आफुले पाएको चुनाव चिन्ह नरहेको भन्दै वैशाख २० गते धर्नामा बस्नु भएको थियो ।
आयोगका तर्फबाट मुख्य निर्वाचन अधिकृत प्याकुरेलले वैशाख २० गते साँझसम्म आयोगको वेबसाइटमा चुनावचिन्ह सहितको अर्को नमूना मतपत्र अपलोड हुने लिखित प्रतिबद्धता जनाएपछि धर्ना स्थगन भएको मेयरका उम्मेदवार मनोज साहले बताउनु भयो ।

