नेपाल सरकार र प्रदेश सरकारका मन्त्री, राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले पालना गर्नु पर्ने निर्वाचन आचार संहिता विपरित चुनावी प्रचारप्रसार अभियान जारी राखेको मधेश प्रदेशका इन्सेक जिल्ला प्रतिनिधिले जनाएका छन् ।
सप्तरी प्रतिनिधि मनोहर पोखरेलका अनुसार निर्वाचन आचार संहिता, २०७८ विपरित नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू सप्तरीमा राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचार प्रसारमा उत्रिएका छन् । राजविराजस्थित साह सेवा सदनमा जनता समाजवादी पार्टीका तर्फबाट राजविराज नगरपालिकामा नगर प्रमुख, उपप्रमुखले सम्बोधन गरेको चुनावी भेलामा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र मधेस प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले वैशाख १८ गते सम्बोधन गर्दै मत मागेका छन् ।
यसैगरी वैशाख १७ गते विष्णुपुर गाउँपालिकामा भएको चुनावी सभामा मन्त्री यादव र साहले जसपाको तर्फबाट नगर प्रमुख, उपप्रमुखलगायतका उम्मेदवारको पक्षमा र अन्य दलको विपक्षमा प्रचारप्रसार गरेका छन् । मधेस प्रदेशका मन्त्री साहले आफ्नो सामाजिक सञ्जाल फेसबुक र टिकटकमा समेत चुनाव प्रचारप्रसार गर्दै सामाग्रीहरू पोष्ट गरेका छन् ।
निर्वाचन आचारसंहिता, २०७८ को परिच्छेद ३ को दफा ५ (क) मा नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने उल्लेख गरेको छ ।
यसैबिच निर्वाचन आचारसंहिता, २०७८ ले बालबालिकाको प्रयोग निषेध गरे पनि राजविराजमा वैशाख १८ गते भएको चुनाव प्रचार प्रसार कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बालबालिकाको प्रयोग गरेका छन् ।
नेपाली कांग्रेसले राजविराजका नगर प्रमुख र उपप्रमुखको उम्मेदवारसहित गरेको घरदैलो कार्यक्रमको व्यानर र झण्डा बालबालिकाले बोकेका थिए ।
यस्तै नेकपा (माओवादी केन्द्र) ले वैशाख १८ गते नै नगर परिक्रमासहित राजविराजस्थित गजेन्द्र चोकमा नगर प्रमुख, उपप्रमुखको उम्मेदवारसहित गरेको आमसभामा व्यानर र झण्डा बोक्ने अग्रपङ्क्तिमा बालबालिका रहेका थिए ।
निर्वाचन आचार संहित २०७८ को परिच्छेद २ को दफा ४ को (छ) मा १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्न वा गराउन नहुने व्यवस्था गरिएको छ ।
महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार निर्वाचन आयोगले सम्सीमा कायम रहेको विवादलाई साम्य पार्नका लागि निर्वाचन अधिकृत फेर्दै सो पालिकामा निर्वाचन कार्यक्रमहरु पुनः दोहोे¥याउने भएको छ । निर्वाचन आयोगले संशोधन कार्यक्रम सहित निर्वाचन गतिविधी गर्नका लागि निर्देशन दिइएकोले सोही अनुसार यहाँ कार्यक्रम संचालन हुने निर्वाचन अधिकृत विनोदकुमार दाहालले जानकारी दिनु भयो ।
निर्वाचन अधिकृत दाहालले भन्नु भयो,–‘यसभन्दा अघिका निर्वाचन अधिकृत दिलीपकुमार प्रधानले कार्यसम्पादन गर्ने क्रममा विवाद सिर्जना भएपछि कार्यक्रम फेरिएको हो । अब सम्सी पालिकाको हकमा नयाँ कार्यतालिका प्रकाशन भएको छ । जसअनुसार वैशाख १९ गते दोस्रो पटक मनोनयन जाँच गर्ने, उजुरीउपर जाँचबुझ गरी निर्णय गरिने भएको छ । त्यस्तै सोही दिन दाबी विरोधको छानविन गरिएपछि अन्तिम नामावली प्रकाशन गरिनेछ । अनि वैशाख २१ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।’
निर्वाचन आयोगले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्सी गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत उपसचिव दिलीप प्रधानलाई फिर्ता पठाइएको छ । प्रधानको ठाउँमा निर्वाचन अधिकृत विनोदकुमार दाहाललाई खटाइएको छ ।
यसअघिका निर्वाचन अधिकृत प्रधानले माओवादी केन्द्रका दुई वडाध्यक्ष र एक जना वडा सदस्यको उम्मेदवारी रद्द गरेका थिए । निवर्तमान वडाध्यक्ष र सदस्यले गाउँपालिकाबाट लिएका जिन्सी सामान फिर्ता र बेरुजु रकम दाखिला नगरी फेरी वडाध्यक्षको उम्मेदवार भएको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि वडाध्यक्ष र सदस्यको उम्मेदवारी रद्द गरिएको थियो ।
निर्वाचन अधिकृतको कार्यालय वडा नं. २ मा माओवादी केन्द्रका उम्मेदवार शेष मकसुद आलम र माओवादी केन्द्रकै वडा नं. ६ का अध्यक्षका उम्मेदवार शेष उमैदको उम्मेदवारी रद्द गरेको थियो ।
माओवादी केन्द्रका तीन जना उम्मेदवारको उम्मेदवारी रद्द भएपछि गत वैशाख १६ गते निर्वाचन अधिकृत कार्यालय अगाडि उनीहरुले प्रदर्शन गरेका थिए ।
किन फेरिए सम्सी गाँउपालिकाका निर्वाचन अधिकृत
उम्मेदवारको विषयमा तनावग्रस्त रहेको सम्सी गाँउपालिकामा निर्वाचन अधिकृत फेरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मधेश प्रदेशमा कार्यरत उपसचिव दिलिप कुमार प्रधानलाई हटाएर निर्वाचन आयोगले सिद्धिचरण नगरपालिका ओखलढुङ्गामा कार्यरत सोहि स्तरका विनोदकुमार दाहाललाई सम्सीको निर्वाचन अधिकृत तोकेको छ ।
सम्सी गाँउपालिकामा गत वैशाख १२ गते मनोनयन दर्ता गरेकाहरु वडा नं. २ का वडाअध्यक्ष उम्मेदवार शेष मकसुद आलम र वडा सदस्य मोहमद मकसुद, वडा नं. ६ का वडाअध्यक्ष शेष उमैद र वडा नं. ७ का वडाअध्यक्ष तेज नारायण यादवको बरबुझारथ तथा अन्य कागजात नपुगेको भनि निर्वाचन अधिकृत दिलिप कुमार प्रधानले मनोनयन खारिज गरेकोमा पछि उम्मेदवारहरुले सबै कागजात पेश गरेको दावी गरेपछि कार्यालय मै कागजातहरु फेला परेको थियो ।
सोहि विषयमा विवाद र विरोध क्रममा रहि सम्सी स्थित निर्वाचन कार्यालयमा कामकाज ठप्पको अवस्था आएपछि प्रधानले निर्वाचन आयोगलाई सवै व्यहोरा अवगत गराउदै आवश्यक निर्देशनको लागि पत्र लेखेका थिए । सोहि क्रममा निर्वाचन आयोगले प्रधानको गल्तीले यस्तो अवस्था सृजना हुन जादा उनलाई हेरफेर गरेको हो ।
धनुषा प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका–५ को दलित महिला सदस्यमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएकी रिपु कुमारी देवी निर्विरोध निर्वाचित भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकामा काँग्रेस, जसपा, नेकपा माओवादी र एकिकृत समाजवादीको गठबन्धन रहेको छ । गठबन्धनका लागि काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी रिपुकुमारी देवी वडा सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
रिपुले दलित महिला सदस्य पदका लागि उम्मेदवारी दिएकोमा सो पदमा उहाँको एकल उम्मेदवारी रहेकाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताउनु भयो ।

