मुख्य निर्वाचन अधिकृतको कार्यलयले स्थानीय तह निर्वाचनलाई लक्षित गरी मुख्य निर्वाचन अधिकृत, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा अन्य सरोकारवालाहरुसँग सर्वदलीय तथा सर्वपक्षीय छ्लफल कार्यक्रम पोखरामा वैशाख १९ गते आयोजना गरेको छ ।
कार्यक्रममा राजनीतिक दलका उम्मेदवार, सुरक्षा निकायका प्रतिनिधि, सरकारी गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकार र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले आचारसंहिता उल्लङ्घन पालना कडाईका साथ हुने बताउनुभयो ।
दलहरू प्रचारप्रसारमा जानू अगावै दलहरूलाई आचारसंहिताका बारेमा जानकारी र सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाई थियो।
उहाँले एक दलले अर्को दलको प्रचारप्रसार गर्न पाउने अधिकारलाई सम्मान गर्न आग्रह गर्नुभयो ।
चुनाब चिन्ह राखिएका टिर्सट, टोपी र स्टिकरहरु प्रयोग गरेको पाईएमा नियम अनुसार कारवाही हुने उहाँले बताउनुभयो ।
नेकपा एमालेको तर्फबाट पोखरा महानगरपालिका मेयरका उम्मेदवार कृष्ण थापाले आचारसंहिता पालनामा कुनै कमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पाँच दलीय गठबन्धनको तर्फबाट उपमेयर उम्मेदवार कोपीला रानाभाटले आचारसंहिता पालना सबैको कर्तव्य गरेको भन्दै गठबन्धन आचारसंहिता पालनामा प्रतिबद्ध रहेको भनाई राख्नुभयो ।
प्रदेश निर्वाचन आयोगका प्रमुख फोटोसहितको मतदाता नामावली रहेका कारण फर्जी मत खस्छ भन्ने अवस्था नरहेको बताउनुभयो ।
रुपा गाउँपालिका निर्वाचन अधिकृत रुद्र सुवेदीले निर्वाचन आचारसंहिता बारे उजुरी आएपछि छानविन प्रक्रिया अगाडि बढाउन कुनै समस्या नरहेको बताउनुभयो । उहाँले निर्वाचन आयोगले तोकेको सिमा भित्र रहेर खर्च गर्न आग्रह गर्नुभयो ।
नेकपा (एमाले) पोखरा महानगरपालिका सचिव जीवन आचार्यले सङ्घ तथा प्रदेशका मन्त्रीहरुले नै मतदातालाई प्रभावित पार्ने कार्यमा लागेको भन्दै आयोगको ध्यानाकर्षण गराउनुभयो ।
पोखरा महानगरपालिका वडा नम्बर ९ सदस्य पदका उम्मेदवार कृष्ण रानाभाटले मतदान नामावलीमा अझैपनि मृत्यु भएकाहरुको नाम रहेको भन्दै आयोगको ध्यानाकर्षण गराउनुभयो ।
नियोक अनुगमन समिति सदस्य बिना सिलवालले मानसिक रोगीहरुले निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने भन्ने प्रावधान गम्भीर मानवअधिकार उल्लङ्घन भएको बताउनुभयो ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले निर्वाचन मनोनय गर्ने दिन नै आचारसंहितामा उल्लंघन भएको बताउनुभयो ।
उहाँले प्रचारप्रसारमा ठुला झण्डा, मोटरसाइकल र्याली, अधिकतम सवारी साधनको प्रयोग, चुनाव चिन्ह अङकित टोपी जस्ता आचारसंहिता उल्लंघनका कार्य दलहरुले गर्दै आइरहेको अनुगमनको क्रममा देखिएको बताउनुभयो ।
पत्रकार गौरव त्रिपाठीले आचारसंहिता देखाउनका लागि मात्रै भएको भन्दै कार्यन्वयनमा आयोग गम्भीर बन्न नसकेको बताउनुभयो ।

