निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता विपरीत दुई ओटा गैर सरकारी संस्थाले काठमाडौँमा महिला जिताउँ अभियान कार्यक्रम सञ्चालन गरेका छन् ।
महिला गैरसरकारी संस्था महासङ्घको संयुक्त महासङ्घ र महिला सञ्जाल सङ्कल्पले निर्वाचन आचारसंहिता विपरीत वैशाख १९ गते काठमाडौँको नयाँ बानेश्वरस्थित अल्फा ब्याङ्केटमामा स्थानीय तहको निर्वाचनमा ‘महिला जिताऔँ अभियान’ को ब्यानरमा काठमाडौँ र ललितपुर जिल्लाका बिभिन्न पदका महिला उम्मेदवारहरू राखेर कार्यक्रम आयोजना गरेका हुन् ।

कार्यक्रममा कांग्रेसबाट काठमाडौँ महानगरपालिका मेयरकी उम्मेदवार सिर्जना सिंह, विवेकशील साझा पार्टी काठमाडौँबाट मेयरकी उम्मेदवार समीक्षा बाँस्कोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँ महानगरबाट उपमेयरकी उम्मेदवार विनिता मगैयाँ, कांग्रेसबाट टोखा नगरपालिका मेयरको उम्मेदवार रजनी थापा, विवेकशील साझाको तर्फबाट काठमाडौँ महानगरपालिका उपमेयरकी उम्मेदवार कृति तुलाधार, राष्ट्रिय प्रजातन्त्र ललितपुर महानगर उपमेयर उम्मेद्ववार स्वर्णिम शाक्य लगायत उपस्थित थिए ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७८ को दफा ११ को खण्ड (क ) मा गैर सरकारी वा निजी सङ्घ संस्था तथा त्यस्तो सङ्घ संस्थासँग आबद्ध पदाधिकारी तथा कर्मचारीले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने व्यवस्था व्यवस्था रहेको छ ।
सोहि दफाको खण्ड (घ) मा निर्वाचन शिक्षासम्बन्धी प्रचार बाहेक कुनै राजनीतिक प्रकृतिको कार्यक्रम गर्न नहुने उल्लेख छ ।
