निर्वाचन कार्यालय अगाडि नाराबाजी गरेको भन्दै प्रहरीले वैशाख १८ गते अटेरी अभियानका अभियन्ता पोखरा नगरपालिका–१५ बस्ने ३१ वर्षीय अशोक खड्कालाई गिरफ्तार गरेको छ ।
आरोपित खड्काले वैशाख १७ गते निर्वाचन कार्यालय पोखराको अगाडी भएको अटेरीको आन्दोलनमा धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको पत्रानुसार वैशाख १८ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले निर्वाचन सम्बन्धी कसुर तथा सजायं ऐन २०७३ को दफा २० को उपदफा १ (घ) उल्लेख गर्दै खड्कालाई गिरफ्तार गरी अनुसन्धान गर्न पत्र प्राप्त भएकाले गिरफ्तार गरिएको उहाँले जानकारी दिनुभयो ।
उक्त दफामा निर्वाचन सम्बन्धी कार्यमा प्रभाव पर्ने गरी धाक धम्की वा डर त्रास देखाउन नहुने प्रावधान रहेको छ। गिरफ्तार गरिएका खड्कालाई फोन सम्पर्क गरी प्रहरी वडा प्रहरी कार्यलय बैदाम बोलाइएको थियो । निर्वाचन प्रचारमा रहेका उनलाई वडा प्रहरी कार्यलय बैदाम पुगेलगत्तै प्रहरीले गिरफ्तार गरेको थियो ।