स्थानीय तह निर्वाचन नजिकिदै गएको अवस्थामा राजनीतिकहरुले निर्वाचन आयोगद्वारा जारी गरिएको आचरसंहिताको पूर्ण रुपमा पालन गर्न नसकेको इन्सेक प्रतिनिधिहरुले गर्नु भएको अनुगमनका क्रममा पाइएको छ ।
इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि जिल्लास्थित राजनीतिक दलले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेको पाइएको छ । दोगडाकेदार गाउँपालिकामा प्रचारको लागि नेकपा एमालेले भारतीय नम्बरको गाडी प्रयोग गरेको हो । एमालेको तर्फबाट वडा नम्बर ७ मा वडाध्यक्ष पदका उम्मेदवार रहेका दिनेशप्रसाद भट्टले गाडी प्रयोग गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेसबहादुर पालले बताउनु भयो ।

निर्वाचन आचारसंहितामा नेपालमा दर्ता भएका गाडीहरु निर्वाचन प्रयोजनको लागि प्रत्यक्ष उम्मेदवारले अधिकतम दुई ओटा हल्का सवारी साधन निर्वाचन अधिकृतको कार्यालयबाट स्वीकृत लिई सञ्चालन गर्न पाउने प्रावधान रहेको छ ।
वडा अध्यक्षका उम्मेदार भट्टका आफन्तहरु भारतबाट महेन्द्रनगर हुँदै आएकोले गाडी पनि सँगै ल्याएको बुझिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश पालको भनाइ छ ।
उहाँका अनुसार गाडीमा झण्डा राखेको खबर पाएपछि प्रहरीले सोधपुछ गरी उपरान्त प्रचारका लागि भारतीय नम्बर प्लेटको गाडी प्रयोग नगर्ने शर्तमा गाडी सम्बन्धित ठाउँमा पठाएको डिएसपी पालले बताउनु भयो ।
इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार जिल्लास्थित राजनीतिक दलहरुले आचारसंहिता विपरित जिल्ला सदरमुकामका बजार क्षेत्रमा पार्टीको झण्डा टाँगेर आचारसंहिताको उल्लङ्घन गरेका छन् । आचारसंहिता उल्लङघन गर्नेमा मुख्य दल नेपाली कांगे्रस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले अगाडि छन् ।
निर्वाचन आचारसंहिताको राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ सङ्गठनले पालना गर्नु पर्ने आचरणको (ज) मा घर वा जग्गा धनीको अनुमति नलिई कसैको घर वा जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने र सभा वा भेलाको लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागि बाहेक अन्यत्र साउण्ड सिस्टमको प्रयोग गर्न गराउन नहुने उल्लेख छ ।

तर, जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले र नकपा माओवादी केन्द्रले सडकमाथि ठाउँठाउँमा पार्टीको झण्डा र टङ्ग्याएर बजार रंगाएका छन् । बजारमा जीप तथा बसहरुमा ठूलो साउण्ड सिस्टम राखेर प्रचारप्रसारमा राजनीतिक दल लागेका छन् । सार्वजनिक स्थानमा व्यानर लगाउने तथा अनुमति नलिएरै दर्जनौँ गाडी राजनीतिक दलले प्रयोग गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले अहिले यो विषयलाई हामीले अस्वभाविक नदेखेको प्रतिक्रिया दिनु भयो ।
उहाँले भन्नु भयो– ‘कसैबाट उजुरी वा गुनासो आयो भने चासो दिने गरेका छौँं । तर, निर्वाचनको बेला सानासाना विषयलाई ठूलो बनाउँदा झन समस्या हुने गरेकोले पूर्ण रुपमा हेर्ने गरिएको छैन् । दलहरुले चुनावी माहोन बनाइरहेका कारण साउण्ड सिस्टमको प्रयोग गरेको हुन सक्छ ।’

मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले यसबारेमा उजुरी नपरेको बताउनु भयो ।
उहाँले आचारसंहिता उल्लङ्घन भए नभएको सम्बन्धमा अनुगमन गर्न निर्वाचन कार्यालयले अधिकृत स्तरको कर्मचारी परिचालन गरिएको भएपनि दलहरुले आचरसंहिता उल्लङ्घन गरेको भन्ने सूचना आफूहरुलाई प्राप्त नभएको बताउनु भयो ।
इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्लास्थित राजनितिक दलहरुले जिल्ला सदरमुकामको बिच बजार लोकतान्त्रीक चौकको चारैतर्फ बिभिन्न पार्टीका झण्डा तथा चुनाम चिन्ह् अंकित झण्डा टागेर आचारसंहिता विपरितका कार्यहरु गरेको पाइएको छ ।
मुख्य निर्बाचन अधिकृत्तको कार्यालय नजिकै नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एमालेका चुनाव चिन्न अंकित झण्डाहरु टागेर लोकतान्त्रीक चौक क्षेत्र रंगीचंगी बनाएका छन् । पार्टीको प्रचारप्रसारमा बालबालिका, सरकारी सवारी साधन समेत प्रयोग गर्ने गरेका छन् ।

निर्वाचन आचारसंहिताको राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ संगठनले पालना गर्नु पर्ने आचरणको (ज) मा घर वा जग्गा धनीको अनुमति नलिई कसैको घर वा जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने उल्लेख छ ।
मुख्य निर्बाचन अधिकृत्त माधबप्रसाद धिमेरीले राजनीतिक दलहरुले आचारसंहिता उल्लङ्घन गरेको भनेर कहिकतैबाट पनि लिखित उजुरी नआएको भएपनि मौखिक रुपमा सुन्नमा आएको बताउनु भयो ।
उहाँले राजनीतिक दलहरुलाई निर्वाचन आचरसंहिताको पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि अनुरोध गर्दै आएको भएपनि दलहरुले पालन नगरको बताउनु भयो ।

इन्सेक डडेल्धुरा प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार नेपाली कांग्रेस, डडेल्धुराले निर्वाचन आचारसंहिता विपरित जिल्ला सदरमुकामको बागबजार क्षेत्रमा पार्टीको झण्डा टासेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै रहेको बजारमा चार ताँरे झण्डा टाँसेर बागबजार क्षेत्रलाई नै रङ्गीचङ्गी बनाएको छ ।
राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ सङ्गठनले पालना गर्नु पर्ने आचरणको (ज) मा घर वा जग्गा धनीको अनुमति नलिई कसैको घर वा जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह् राख्न वा टाँस्न नहुने उल्लेख छ । तर, कांग्रेसले बागबजारको सडकमाथि ठाउँठाउँमा पार्टीको झण्डा टाँसेको छ ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएर आचरसंहिता विपरित लगाइएका पार्टीका झण्डाहरु हटाउन लगाउने बताउन ुभयो ।
उहाँले भन्नु भयो– ‘यदि झण्डा टाँसिएको छ भने मुख्य निर्वाचन अधिकृतलाई जानकारी गराउँछु । उहाँहरूले अनुगमन गर्नुहुन्छ । मेरो तर्फबाट झण्डा हटाउन प्रयास गर्छु ।’
मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले भने यसबारेमा उजुरी नपरेको तर कहिकसैबाट उजुरी परेमा निर्वाचन आयोगलाई लेखि पठाउने बताउनु भयो । ‘आचारसंहितले बजार क्षेत्रमा झण्डा राख्न पाइदैन । उजुरी परेको खण्डमा प्रमाणसहित आयोगलाई पठाउँछौँ,’ उनले भने, ‘उजुरी नपरेसम्म त के गर्नू ।’
