INSEC Online

📅 २०८३ जेष्ठ २१

नौ जना उम्मेदवारविरूद्ध उजुरी

स्थानीय तह निर्वाचन ०७९ का लागि मनोनयन दर्ता गराएका ६ जना उम्मेदवारविरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएका ६ जना, कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका दुई जना र जनमत पार्टीबाट उम्मेदवारी दर्ता गराएका एक जना गरी नौ जनाविरूद्ध निर्वाचन कार्यालय उजुरी परेको हो ।

केराबारी गाउँपालिकामा चार जनाविरूद्ध, रङ्गेली नगरपालिकामा एक जना र विराटनगर महानगरपालिकामा चार उम्मेदवारविरूद्ध उजुरी परेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका निर्वाचन अधिकारी लेवन काश्यप अधिकारीले बताउनु भयो ।

नेकपा एमालेबाट केराबारी गाउँपालिका–८ का लागि वडाध्यक्ष पदका लागि उम्मेदवारी दिनु भएका ५७ वर्षीय टिकाराम चापागाईँविरूद्ध काठ तस्करीमा संलग्न भएको आरोपमा उजुरी परेको छ । सोही वडामा वडा सदस्य पदका लागि एमालेबाट उम्मेदवारी दिनु भएका २७ वर्षीय दिलबहादुर राईविरूद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ । राई वन्यजन्तु चोरी सिकारी गर्न हातहतियार समेत लिई वन क्षेत्रमा प्रवेश गरेको आरोप छ ।

केराबारी गाउँपालिका–८ का लागि एमालेबाट महिला सदस्य पदका लागि उम्मेदवारी दिनु भएकी ३७ वर्षीया सन्तोषी सार्कीविरूद्ध उजुरी परेको छ । आमजुङगी सामुदायिक वन उपभोक्ता समितिको कोषाध्यक्ष रहेको र मनोनयन दर्ता हुँदा समेत राजीनामा नदिएको भन्दै उजुरी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

केराबारी गाउँपालिका–१ का लागि महिला सदस्यमा नेकपा एमालेबाट महिला सदस्यमा उम्मेदवारी दिनु भएकी ४७ वर्षीया पवित्रा लिम्बूविरूद्ध केराबारी गाउँपालिकाको महिला स्वंयम सेविकाको जिम्मेवारीमा बहाल रहेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

विराटनगर महानगरपालिका–१३ का लागि महिला सदस्यमा एमालेबाट उम्मेदवारी दिनु भएकी ५० वर्षीया गौरीकुमारी वैश्यले अदालतले तोकेको दण्ड जरिवाना नबुझाएको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

रङ्गेली नगरपालिका–८ मा वडा सदस्यमा कांग्रेसबाट उम्मेदवारी दिनु भएका ४९ वर्षीय भीम किशोर मल्ल ठकुरीविरूद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ । ठकुरीको नाममा रङ्गेली नगरपालिकामा बेरुजु रकम देखिएको भन्दै उजुरी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

विराटनगर महानगरपालिका–८ मा दलित महिला सदस्य पदका लागि जनमत पार्टीबाट उम्मेदवारी दिनु भएकी गीता मुखिया र नेपाली कांग्रेसबाट उम्मेदवारी दिनु भएकी सरिता सहनी दलित जातीभित्र नपर्ने भन्दै उजुरी परेको छ ।

निर्वाचन कार्यालयले वैशाख १५ गतेभित्र उजुरी उपर कारबाही गर्ने जनाएको छ ।

अन्य

भिडियो