स्थानीय तह निर्वाचन ०७९ का लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूका विरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेका छन् ।
वैशाख ३० गतेका लागि निर्धारण गरिएको निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका केही उम्मेदवारहरूका विरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेका हुन् ।
इलाम प्रतिनिधि बविता मैनालीका अनुसार फाकफोकथुम गाउँपालिका–५ का वडाध्यक्ष पदका उम्मेदवार नरेन्द्रकुमार सुब्बाविरूद्ध बेरुजुको उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा मनोनयन दर्ता गराउनु भएका सुब्बाले १ लाख ३० हजार बेरुजुको फरफराक नपरेको विषयमा उजुरी परेको हो । साविक गाविस हुँदाको अनुदान फर्छोट नभएको भन्दै नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवार सिद्धमान आलेले उजुरी दिएको फाकफोकथुम गाउँपालिकाका निर्वाचन अधिकृत शिवहरी पौडेलले बताउनु भयो ।
निर्वाचन अधिकृत पौडेलले भन्नुभयो ‘उजुरी परिसकेपछि आवश्यक कागजात पेश गर्ने समयभित्र उहाँले कागजात पेश गर्नुभएको छ, कागजात हेरेर निर्वाचन आयोगले वैशाख १५ गते निर्णय गर्ने छ ।
साविक गाविसको बेरूजु फर्छोट जिल्ला समन्वय समितिमा गर्नुपर्ने व्यवस्था छ । वडाध्यक्ष पदका उम्मेदवार सुब्बाले आफूमाथि उजुरी परेपछि वैशाख १४ गते नेपाल बैङ्क लिमिटेडमा १ लाख ३० हजार रुपियाँ बुझाएको भौचर ल्याएको जिल्ला समन्वय समितिका लेखा अधिकृत नारायण अधिकारीले बताउनु भएको छ ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लङ्घन गरेका छन् ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता झापामा उल्लङ्घन भएको पाइएको हो ।
अर्जुनधारा नगरपालिका–९ मा नेपाली कांग्रेसका उम्मेदवारले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचारप्रसार गरेका छन् । अर्जुनधारा नगरपालिका–९ का वडाध्यक्ष पदका उम्मेदवारका भीष्म मिश्रले घरदैलो कार्यक्रममा मापदण्ड विपरीत झण्डा प्रयोग गरी आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ ।
नेकपा एमालेका विर्तामोड नगरपालिका–४ का वडाध्यक्ष पदका उम्मेदवार राहुलकुमार शर्माको समूहले घरदैलो कार्यक्रममा मापदण्ड विपरीतको ब्यानर प्रयोग गरेको छ ।
निर्वाचन आचारसंहिता २०७३ को दफा १२ को (ङ) मा उम्मेदवारको कार्यालयमा ३×३ फिटको झण्डा र सोही नापको चुनाव चिन्हबाहेक दलको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने भनी उल्लेख गरेको छ ।

सङ्खुवासभ प्रतिनिधि भविन कार्कीका अनुसार वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत जिल्लाका दुई ओटा स्थानीय तहमा तीन जना महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । भोटखोला गाउँपालिका–१ र ४ मा दुई जना र मकालु गाउँपालिकाका एक सदस्य निर्विरोध निर्वाचित भएका हुन् । दलित महिला सदस्यतर्फ दुई जना र महिला सदस्यतर्फ एक जनाको मात्र उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत जयप्रकाश बस्नेतले जानकारी दिनु भयो ।
निर्विरोध निर्वाचित हुनेमा नेकपा एमालेबाट दुई जना र नेपाली कांग्रेसबाट एक जना छन् । नेकपा एमालेबाट भोटखोला गाँउपालिका– १ की दलित महिला सदस्य अम्बिका विश्वकर्मा र वडा– ४ मा एमालेकै चिम्पा भोटे र मकालु गाउँपालिका–२ मा नेपाली कांग्रेसकी दलित महिला सदस्य सविना जैरू रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उनीहरूको निर्विरोध घोषणा स्थानीय तह निर्वाचन कानुनबमोजिम हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । खाँदबारी नगरपालिका मेयरमा पति र उपमेयरमा पत्नीको उम्मेदवारी परेको छ । स्थानीय तह निर्वाचनको लागि खाँदबारी नगरापलिकाको मेयर र उपमेयरका पतिपत्नीको परेको हो ।
जनता समाजवादी पार्टीले खाँदबारी नगरपालिकाको मेयरमा सिताराम तिम्सिना र उपमेयरमा मैयाँदेवी चिमरियाको उम्मेदवारी दर्ता गराएको छ । खाँदबारीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिताराम र मैयाँदेवी पतिपत्नीको उम्मेदवारी परेको हो ।
मेयर पदका उम्मेदवार तिम्सिना जनता समाजवादी पार्टीका सङ्घीय परिषदको केन्द्रीय सदस्य हुन् । पार्टीले जिम्मा दिएपछि पतिपत्नीले एउटै पार्टीबाट एउटै स्थानीय तहमा उम्मेदवारी दिएको सिताराम तिम्सिनाले बताउनु भयो । खाँदबारी नगरपालिका मेयरका लागि तीन जना स्वतन्त्रसहित नौ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।