INSEC Online

📅 २०८३ जेष्ठ २१

हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबिच झडप, एक जना घाइते

हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबिच झडप हुँदा एक जना घाइते भएका छन् । स्थानीय तहको निर्वाचन उम्मेदवार टिकटको विषयलाई लिएर दुई पक्षबिच झडप भएको प्रहरीले जनाएको छ ।

नेकपा माओवादी केन्द्रले जिल्लाबाट दुई जनाको नाममा टिकट आएपछि दुई पक्षबिच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भुवन भट्टका अनुसार कल्पना परियारले माओवादी केन्द्रको उपाध्यक्षमा पहिला उम्मेदवारी दर्ता गराएको र अर्को विनसा रोकायाको नाममासमेत उपाध्यक्षको नाममा पार्टीको टिकट आएपछि रोकिएको थियो ।

उहाँका अनुसार सो विषयलाई लिएर दुई पक्षबिच झडप भएको हो । झडप हुँदा ढुङ्गा प्रहारबाट हिमा गाउँपालिका–६ का ४५ वर्षीय छत्र अधिकारी घाइते भएको प्रहरीले जनाएको छ ।

विनसा रोकायाका अनुसार आफूलाई पार्टीले निर्णय गरेर पठाएपछि टिकट लिएर लाइनमा बसेको थिए । तर, केही व्यक्तिले अर्को टिकट लिएर कल्पनाको नाम दर्ता गराएकाले आफू पीडित भएको विनसाले बताउनु भयो ।

प्रहरीका अनुसार घाइते अधिकारीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाइएको छ ।

कल्पना परियारले उपाध्यक्षमा उम्मेदवारी दिएपछि विनसाले उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झडप भएपछि इन्स्पेक्टर भट्टसहितको टोली हिमामा पुगेको थियो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज गजेन्द्रबहादुर महतले टिकट विनसालाई दिएको भएपनि स्थानीय तहमा कल्पनाको नाम दर्ता गराई सकिएकाले समस्या आएको बताउनु भयो ।

उहाँले भन्नुभयोे–‘दर्ता गराउनेको दोष नभई बिचमा समस्या ल्याइदिएकाले के भएको हो बुझेर समस्या समाधान गर्ने छौँ ।’

गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका रजबहादुर शाहीले ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालिन एमाले तथा समाजबादीका भैरबबहादुर रोकायाको भन्दा तीन मत बढी ल्याएर जित हासिल गर्नु भएको थियो ।

अन्य

भिडियो