मधेश प्रदेशका जिल्लाहरुमा राजनीतिहक दलहरुका लागि तोकिएको स्थानीय तह निर्वाचनको मनोयन वैशाख ११ गते शान्तिपूर्ण तवरले सम्पन्न गरिए पनि निर्वाचन आचार संहिता उल्लंघनका कार्य राजनीतिक दलहरुबाट भइरहेको इन्सेक जिल्ला प्रतिनिधिहरुले जानकारी दिएका छन् । स्थानीय तहको निर्वाचन मनोनयन दर्ताको पहिलो दिन राजनीतिक दलहरुले बालबालिका प्रयोग, चुनाव चिन्ह अंकित स्टिकर, डिजे बाजा सहित ट्रयाक्टर, बस लगायतका सवारी साधन भाडा गरेर मनोनयन दर्ताका लागि आएको अनुगमनका क्रममा देखिएको हो ।
सप्तरी प्रतिनिधि मनोहर कुमार पोखरेलका अनुसार जिल्लामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी, तमलोपा र स्वतन्त्रसहित १५ जनाले नगरपालिका प्रमुखमा र २१ जनाले गाउँपालिका अध्यक्षमा मनोनयन दर्ता गराउनु भएको छ । सता गठबन्धन दलका उम्मेदवारहरू र प्रमुख विपक्षी दल नेकपा (एमाले) ले वैशाख १२ गते उम्मेदवारी दर्ता गराउने जनाएका छन् ।
राजविराज नगरपालिका, राजगढ गाउँपालिका लगायतमा उम्मेदवारी दिन गएको जुलुसमा बालबालिकाको प्रयोग, चुनाव चिन्ह अंकित स्टिकरको प्रयोग र मोटरसाइकल ¥याली गरिएको छ ।
निर्वाचन आचार संहिता, २०७२ को ४ को (ड) मा निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ । यस्तै ४ को ज (१) मा उम्मेदवार वा राजनीतिक दलको नाम वा निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, टिसर्ट, टोपी, गम्छा वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, ट्याटु जस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने उल्लेख छ ।
स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ को ४ (ख) मा उपमहानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले निर्वाचन प्रचार प्रसारको लागि बढीमा एउटा चारपाङ्ग्रे हलुका सवारी साधन र दुई वटा मोटरसाइकल प्रयोग गर्न सक्ने व्यवस्था छ ।
सप्तरीको नौ नगरपालिकामा १५ जनाले मेयरमा र १० जनाले उपमेयरमा मनोनयन दिएका छन् । यस्तै नौ गाउँपालिकामा २१ जनाले अध्यक्षमा र १३ जनाले उपाध्यक्षमा मनोनयन दिएका छन् । वडा अध्यक्षमा १ सय २० जना, खुला वडा सदस्यमा १ सय ८२ जना, महिला सदस्यमा ७८ र दलित महिला सदस्यमा ८३ जना गरी ५ सय २१ जनाले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
स्थानीय तह निर्वाचनका लागि वैशाख ११ गतेदेखि उम्मेदवारहरुको मनोनयन प्रक्रिया सुरु भएको हो । निर्वाचन आयोगले वैशाख ११ र १२ गतेका लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको छ । वैशाख ११ गते बिहान १० बजेदेखि सुरु भएको मनोनयन वैशाख १२ गते अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गर्न पाइनेछ ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि जिल्लामा वैशाख ११ गते पहिलो दिन शान्तिपुर्णरुपमा उम्मेद्वारी मनोनयन दर्ता भएको निर्वाचन अधिकृत इन्दिरा यादवले बताउनु भयो ।
पालिकाको प्रमुख र अध्यक्षमा १४ जना, उपप्रमुख र उपाध्यक्षमा चार जना, वडा अध्यक्षमा २३ जना, सदस्यहरुमा २७ जनाले मनोनयन दर्ता गराएको अधिकृत यादवले जानकारी दिनु भयो । प्रमुख दलहरुले पहिलो दिन मनोनयन नगराउँदा साना दल र स्वतन्त्रहरुले मात्र आज मनोनयन दर्ता गराएकोले सङ्ख्यामा कमी भएको उहाँले बताउनु भयो ।
यसैबिच अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश संयोजक राजु पासवान, राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयका मानव अधिकार अधिकृत मनमाया राना मगर र सहायक प्रथम राजिव कुमार कर्ण र प्रादेशिक बाल अधिकार सञ्जाल मधशे प्रदेश अध्यक्ष आशुतोष झाको टोलीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका र महोत्तरीको पिपरा गाउँपालिकामा स्थानीय तहको निर्वाचन मनोयनको पहिलो दिन अनुगमन गर्नु भएको छ ।
धनुषा जिल्ला निर्वाचन प्रमुख ब्रजेश प्याकुरेलले निर्वाचन मनोनय कार्य सहज तथा शान्तिपूर्ण रुपमा भइरहेको अनुगमन टोलीलाई बताउनु भयो । उहाँका अनुसार राजनीतिक दलहरुसँग सम्पर्क गरी तोकिएकै समयमा मनोनयन दर्ताका लागि आग्रह गरेको बताउनु भयो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी शान्ति सुरक्षाका लागि खटाइएको र निर्वाचन मनोनय गर्ने महिला, दलित अल्पसंख्यक उम्मेद्वारलाई तोकिएको निर्वाचन दस्तुरमा ५० प्रतिशत छुट रहेको उहाँको भनाई थियो ।
बाहिर भिडभाड भएकोले उम्मेद्वार र समर्थकहरुलाई मात्र कम्पाउण्डमा राखेर मनोनयनको कार्यलाई व्यवस्थित र सहज बनाइएको र भोलि पनि यसै गरी गरिने निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिनु भयो ।
महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार इन्सेकको नेतृत्वमा स्थानीय तहको निर्वाचन मनोनयन दर्ताको पहिलो दिन अनुगमन गरिएको छ । इन्सेक मधेश प्रदेश संयोजक राजु पासवान, राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयका मानव अधिकार अधिकृत मनमाया राना मगर र सहायक प्रथम राजिव कुमार कर्ण र प्रादेशिक बाल अधिकार सञ्जाल मधेश प्रदेश अध्यक्ष आशुतोष झाले आज महोत्तरीको पिपरा गाउँपालिकामा स्थानीय तहको निर्वाचन मनोयनको पहिलो दिन अनुगमन गर्नु भएको छ ।
पिपरा गाउँपालिकाका निर्वाचन अधिकृत यादब प्रसाद पौडेलले निर्वाचन मनोनय कार्य सहज तथा शान्तिपूर्ण रुपमा भइरहेको अनुगमन टोलीलाई बताउनु भयो । उहाँका अनुसार आज जनमत पर्टीले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र सबै वडामा वडा अध्यक्ष तथा सदस्यहरुको मनोनयन दर्ता गराएका छन् भने एक जना स्वतन्त्र उम्मेदवारले मनोनय दर्ता गराएका छन् ।
बाहिर भिडभाड भएकोले उम्मेदवार र प्रस्तावक, समर्थकहरुलाई मात्र कम्पाउण्डमा राखेर मनोनयनको कार्यलाई व्यवस्थित र सहज बनाइएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिनु भयो ।