INSEC Online

📅 २०८३ जेष्ठ २१

राजनीतिक परिवर्तनका लागि लडेका व्यक्तिहरूको अधिकार कुण्ठित हुँदासम्म मानव अधिकारको प्रत्याभूति हुन सक्दैनः सभामुख घर्ती

राजनीतिक परिवर्तनका लागि लडेका व्यक्तिहरूको अधिकार कुण्ठित हुँदासम्म मानव अधिकारको प्रत्याभूति नहुने लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले बताउनु भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेशद्वारा वैशाख ९ गते बुटवलमा आयोजित  मानवअ धिकारको पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा सरोकारवालाहरूको भूमिका विषयक प्रदेश स्तरीय कार्यक्रममा घर्तीले उक्त कुरा  बताउनु भएको हो ।

सभामुख घर्तीले मानव अधिकारको सवाल महत्वपूर्ण विषय भएको भन्दै लोकतन्त्र र मानव अधिकार एक अर्काका परिपूरक भएकोले यसको संरक्षण गर्नु राज्यको दायित्व भएकोले मानव अधिकारको विषयवस्तु समय अनुसार फरक हुदै यसको दायरा फराकिलो हुँदै जाने बताउनु भयो ।

उहाँले विस्तृत शान्ति सम्झौतामा उल्लेख गरिएको सम्झौतालाई लामो समयसम्म पनि व्यवस्थापन गर्न नसक्दा बेपत्ता पारिएका र शहिदहरूको सवाललाई सम्बोधन गर्न नसकिएकोप्रति चिन्ता व्यक्त गर्दे यस प्रति  प्रदेश सरकार संवेदनशिल भएको बताउनु भयो ।

जिल्ला समन्वय समितीका प्रमुख एकराज विश्वकर्माले मानव अधिकार राष्ट्रिय कार्ययोजनालाई कार्यान्वयनका लागि राजनीतिक समस्या हल गर्दे आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार प्राप्तीलाई जोड दिनुपर्ने बताउनु भयो ।

photo2022042304rupandehi

विश्वकर्माले विकास गर्दा भौतिक विकास मात्र नभइ मानवीय विकासमा जोड दिए समाजमा रहेका अपराधिक घटना न्यूनिकरण हुने धारणा राख्नु भयो ।

उहाँले जिल्लास्तरको मानव अधिकार कार्ययोजना कार्यान्वयन समितीको जिम्मेवारी भएकोले यस विषयमा संवेदनशिल भएर अगाडि बढने प्रतिबद्धता जनाउनु भयो ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका कानुन सचिव राजेन्द्र थापाले मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्नका लागि प्रदेश सरकार संवेदनशिल भएर अगाडि बढेको बताउनु भयो ।

थापाले मानव अधिकार कार्ययोजनाले व्यवस्था गरे बमोजिम प्रदेश सरकारको १८ वटा विषय र स्थानीय तहका १७ वटा विषय समेटेको र समितीले सोही अनुसार पहिलो बैठक गरेको भएपनि  विभिन्न समस्याका कारण अन्य बैठक बस्न नसकेको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मानव अधिकार कार्यायोजनाको कार्यान्वयनको अवस्थालाई हेर्दा यसको विकासक्रम क्रमिकरुपमा अगाडि बढेको बताउदै यसकालागि गैरसरकारी संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयकी  एडभोकेशी विभाग प्रमुख सम्झा श्रेष्ठले मानव अधिकारको पाँचौ राष्ट्रिय कार्ययोजनाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग बुटवलका प्रमुख सन्तोष आचार्यले मानव अधिकार राष्ट्रिय कार्ययोजनाले चार तहको समितीको व्यवस्थापन गरेकोले ती समितीहरूलाई क्रियाशील बनाउन सके  यसको प्रभावकारीता बढने बताउनु भयो ।

आचार्यले मानव अधिकार उल्लंघन र अपराधलाई एउटै हिसाबले बुझ्दा र छुट्याउन नसक्दा समस्या भएको बताउनु भयो ।

नेपाल बार एसोसिएशन रुपन्देहीका पूर्व अध्यक्ष शिव गौडेलले मानव अधिकारको संरक्षण गर्ने दायित्व राज्यको भएकोले मानव अधिकार उल्लंघनकर्तालाई कानुन बमोजिम कारबाही गर्ने र पीडितलाई न्याय दिन नसकेको बताउनु भयो ।

इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले राज्यले ल्याउने कानुन, ऐन कार्यान्वयन गर्नकालागि समन्वय गरेर जान सके यसको प्रभावकारीता बढने बताउनु भयो ।

अन्य

भिडियो