११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गौरीगञ्ज गाउँपालिका–२ का ४५ वर्षीय सूर्यबहादुर पौडेललाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश गिरीराज गौतमको वैशाख ६ गतेको इजलासले कैद सजायसँगै पीडितले पाउने गरी ४० हजार रुपियाँ कसुरदारबाट क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुरागाँइले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७८ कात्तिक १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १६ गते इलाका प्रहरी कार्यालय गौरीगञ्जमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी जिल्ला अदालतमा मङ्सिर ९ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पराजुलीको ०७८ मङ्सिर १० गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।पीडितको स्वास्थ्य परीक्षण मेची अस्पतालमा ०७८ कात्तिक १६ गते गरिएको थियो ।
जिल्ला अदालतले १५ वर्षीया बालिका र २० वर्षीया महिलालाई बेचविखनको प्रयास गरेको कसुरमा सुनसरी जिल्ला धरान उपमहानगरपालिका–५ की ४२ वर्षीया सुनिता राईलाई २ वर्ष छ महिना कैद
सजायको फैसला सुनाएको छ ।
न्यायाधीश गिरीराज गौतमको ०७९ वैशाख ६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला भएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुरागाँइले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितद्घयालाई आरोपितले ०७७ माघ १८ गते वेचविखन प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७७ फागुन २ गते इलाका प्रहरी काकरभिट्टामा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई काँकरभिट्टाबाट सोही दिन गिरफ्तार गरेको थियो ।
आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा फागुन २४ गते मानव बेचबिखन शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको ०७७ फागुन २५ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।