जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका तत्कालिन निमित्त व्यवस्थापक टिकाराम जैसीमाथि मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) जाजरकोटका अध्यक्ष भेरी नगरपालिका–४ का २३ वर्षीय दिपेन्द्र सिंहलाई वैशाख ५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास निरौलाले बताउनु भयो ।
उहाँले घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी रहेको बताउनु भयो । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका तत्कालिन निमित्त व्यवस्थापक टिकाराम जैसीमाथि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बताउने घटनामा संलग्न भनिएका डिल्लीबहादुर राना र गोविन्द चन्द लगायतले ०७८ फागुन ३० गते जिल्ला स्वास्थ्य कार्यालय व्यवस्थापकको कार्यकक्षमै पुगेर मोसो दलेर दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।
आरोपित डिल्लीबहादुर राना र गोविन्द चन्दले मोसो दलेर तथा जुत्ताको माला लगाएर दुर्व्यवहार गर्नुको साथै धम्की समेत दिएको देखिएकाले शान्ति सुरक्षाको माग गर्दै आरोपितहरू विरुद्ध पीडितले चैत १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।