निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको जनप्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी दिन चाहिने कागजपत्रको मापदण्ड सार्वजनिक गरेको छ ।
आयोगद्वारा ०७९ वैशाख ६ गते जारी मापदण्डमा स्थानीय तहको गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, माहानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा समावेशी लगायतका वडासदस्य पदका लागि छुट्टाछुट्टै कागजातहरू चाहिने उल्लेख छ ।
आयोगका अनुसार गाउँपालिका प्रमुख र उपप्रमुख तथा महानगरपालिका, उपमहानगर पालिका, नगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूले मनोनयन दर्ताको दिन नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैंक भौचर वा नगद रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र तथा सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको नामावलीमा नाम समावेश भएको निस्सा र उम्मेदवारको स्वघोषणा गरेको कागजात उपलब्ध गराउनुपर्नेछ ।
त्यस्तै वडा अध्यक्ष र वडा सदस्यपदका उम्मेदवारहरूले मनोनयनका दिन नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैँक भौचर वा नगद रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र तथा सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको नामावलीमा नाम समावेश भएको निस्सा र उम्मेदवारको स्वघोषणा गरेको कागजात उपलब्ध गराउनुपर्नेछ ।
त्यस्तै दलित महिला वडा सदस्य पदका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैँक भौचर वा नगद रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्रक साथै सम्बन्धित गाउँपालिका, नगरपालिका वा अधिकार प्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा र उम्मेदवारको स्वघोषणा उपलब्ध गराउनुपर्नेछ ।