INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तह निर्वाचन २०७९– सुदूरपश्चिम प्रदेशका १ हजार १ सय ३५ मतदानस्थलमध्ये ३ सय २७ अति संवेदनशील र ४ सय १० संवेदनशील मतदानस्थल

०७८ माघ २४ गते बसेको मन्त्रीपरिषद् बैठकबाट ०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णयपछि सुदूरपश्चिम प्रदेशका ८८ ओटा स्थानीय तहमा ०७९ वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा १ हजार १ सय ३५ मतदानस्थल रहेकोमा ३ सय २७ ओटा अति संवेदनशील र ४ सय १० ओटा संवेदनशील मतदानस्थल रहेका छन् । २ हजार १ सय ३ ओटा मतदान केन्द्र रहेको यस प्रदेशमा ८ लाख ३१ हजार ४ सय ७० महिला र १८ जना अन्य गरी १६ लाख ३२ हजार १ सय ५० जना मतदाता रहेका छन् । जिल्ला सुरक्षा समितिले सुरक्षाका दृष्टिकोणबाट विश्लेषण गरेको मतदानस्थलहरु र तयारीका सन्दर्भमा इन्सेक प्रतिनिधिहरुले पाउनु भएका स्थानीय निर्वाचनसम्बन्धी सूचनाहरु यस प्रकार रहेका छन् ।

इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्ला सुरक्षा समितिले ७० ओटा मतदानस्थल मध्ये ३८ ओटा अति संवेदनशील, २५ ओटा संवेदनशील र सात ओटा सामान्य मतदानस्थलहरु रहेका छन् । मतदान केन्द्रलाई तीन तहमा विभाजित गरी सुरक्षा समितिले विश्लेषण गरी सोही अनुसारको एकिकृत सुरक्षा योजना बनाएर सुरक्षाको प्रवन्ध मिलाउने व्यवस्था गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बताउनु भयो । जिल्लाका नौ ओटा स्थानीय तहमध्ये बडिमालिका नगरपालिकामा दुई ओटा संवेदनशील र सात ओटा सामान्य मतदानस्थल रहेका छन् । त्रिबेणी नगरपालिकामा ६ ओटा अति संवेदनशील र तीन ओटा संवेदनशील रहेका छन । बुढीगंगा नगरपालिकामा ६ ओटा अति संवेदनशील र चार ओटा संवेदनशील, बुढीनन्दा नगरपालिकामा ६ ओटा अति संवेदनशील र ६ ओटा संवेदनशील, खप्तड छेडेदह गाउँपालिकामा चार ओटा अति संवेदनशील र तीन ओटा संवेदनशील, गौमुल गाउँपालिकामा पाँच ओटा अति संवेदनशील र एक ओटा संवेदनशील, जगन्नाथ गाउँपालिकामा चार ओटा अति संवेदनशील र दुई ओटा संवेदनशील, स्वामीकार्तिक खापर गाउँपालिकामा दुई ओटा अति संवेदनशील र तीन ओटा संवेदनशील र   हिमाली गाउँपालिकामा पाँच ओटा अति संवेदनशील र तीन ओटा संवेदनशील मतदानस्थल रहेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले बताउनु भयो । निर्वाचनमा भाग नलिने राजनीतिक समूहका गतिविधि, भौगोलिक विकटता, सञ्चार असुविधा र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर जिल्ला सुरक्षा समितिले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा मतदानस्थल छुट्याएको र सोही अनुसार मतदानस्थलको अनुगमन र सुरक्षा व्यवस्थापन गरिने सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताउनु भयो । जिल्लामा ७० ओटा मतदानस्थल र १ सय १२ ओटा मतदान केन्द्र रहेका छन् ।  जिल्लामा ४० हजार ५ सय ३७ महिला सहित ८२ हजार ६ सय ९० जना मतदाता रहेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), राप्रपा, नेकपालगायत १३ ओटा राजनीतिक दलहरूले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नबराज अबस्थिले बताउनु भयो ।

इन्सेक डोटी प्रतिनिधि गणेश जोशीका अनुसार जिल्ला सुरक्षा समितिले आसन्त स्थानीय निर्वाचनमा सुरक्षाको विश्लेषण गरी जिल्लामा रहेका १ सय १५ ओट मतदान स्थलमध्ये नौ ओटा अति संवेदनशील, ३० ओटा संवेदनशील र ७६ ओटा सामान्य मतदानस्थल पहिचान गरी सोही अनुसारको सुरक्षा व्यवस्थापनको योजना बनाएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शंकर विष्टले बताउनु भएको छ । ज्येष्ठ नागरिक, अशक्त, गर्भवति र बिरामीहरुले सहज रुपमा मतदान गर्ने वातारण सृजना गर्न निर्वाचन कार्यालयालाई निर्देशन समेत दिएको प्रमुख जिल्ला अधिकारी विष्टले बताउनु भयो । आगामि वैशाख ३० गते तय गरिएको स्थानीय तह निर्वाचन २०७९ का लागि जिल्लामा नौ ओटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय, डोटीले जनाएको छ । राष्ट्रिय मान्यता प्राप्त चार ओटा दल क्रमसः नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रीय मान्यता प्राप्त नभएका राष्ट्रिय जनमोर्चा, राप्रपा नेपाल, राप्रपा, संघीय समाजवादी, र बिबेकशिल साँझा पार्टी नेपालले दल दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय, डोटीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो । स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लामा ६५ हजार २ सय ७२ महिला सहित १ लाख २३ हजार ५ सय ५४ जना मतदाता रहेको निर्वाचन आयोग नेपालले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा उल्लेख छ । त्यसैगरी १ सय ७१ मतदान केन्द्र कायम गरिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्ला भरिका नौ ओटै स्थानीय तहमा कुल १ लाख १ हजार १ सय १६ मतदाता रहेकोमा पाँच वर्षको अवधिमा झण्डै २३ हजार मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी जिशीले जानकारी दिनु भयो ।

इन्सेक बझाङ प्रतिनिधि सत्यराज सिंहका अनुसार आगामी वैशाख ३० गते तय गरिएको स्थानीय तह निर्वाचन २०७९ का लागि जिल्लामा १२ ओटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय मान्यता प्राप्त चार ओटा र मान्यता प्राप्त नभएका आठ गरी १२ ओटा दलले निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत विमल प्रसाद गौतमले बताउनु भयो । निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार राष्ट्रिय जनमोर्चा, उन्नत लोकतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी समाजवादी, राप्रपा नेपाल, राप्रपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च, जनता समाजवादी पार्टी नेपाल र विवेकशील साँझा गरी आठ ओटा पार्टीले दल दर्ता गराएको गौतमले जानकारी दिनुभयो । निर्वाचन अधिकृत गौतमका अनुसार जिल्लामा ०७८ चैत ४ गतेदेखि चैत ६ गतेसम्म निर्वाचन चिन्हका लागि दल अध्यावधिक गर्ने समय तोकिएको थियो । स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लामा ६० हजार ७ सय ४८ जना महिला सहित १ लाख २२ हजार १ सय ३७ मतदाता रहेको निर्वाचन आयोग नेपालले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा उल्लेख छ । त्यसैगरी जिल्ला भरि १ सय ८३ मतदान केन्द्र कायम गरिएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानका लागि बझाङमा कुल १ सय ८३ मतदान केन्द्र र १ सय ३३ मतदानस्थल तोकिएका छन् । १२ स्थानीय तह रहेको यस जिल्लामा २ नगरपालिका, १० गाउँपालिका रहेका छन् । स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले जिल्लामा १२ जना निर्वाचन अधिकृत तोकेको छ । जिल्ला सुरक्षा समितिले मतदान केन्द्रको अनुगमन गरी सडक, टेलीफोनको पहुँच नभएका मतदान केन्द्र र स्थललाई अतिसंवेदनशीलको रुपमा सिफारिस गरेर गृहमन्त्रालयमा पठाएको भएपनि अनुमोदन भएर नआएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो । यसैगरी प्रत्येक मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई वैशाख २० गते देखि तालिम दिइने तालिका रहेको र मतदानस्थललाई व्यवस्थित, मर्यादित, निष्पक्ष र भयरहित वातावरण सिर्जना गर्न अपनाउनु पर्ने विधि तथा प्रक्रियाका बारेमा तालिम दिइने जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले बताउनु भयो । निर्वाचनमा कर्मचारी र स्वयंमसेवक गरी लगभग १ हजार २ सय जना खटिने र गर्भवती, ज्येष्ठ नागरीक, अपाङ्गता भएका व्यक्तिहरुले मतदान गर्दा लाइन बस्नु नपर्ने वातावरण मिलाइने समेत गौतमले बताउनु भयो ।

इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार १० ओटा स्थानीय तह रहेको यस जिल्लामा ३१ ओटा अति संवेदनशील, ३४ ओटा संवेदनशील र ६४ ओटा सामान्य गरी १ सय २९ ओटा मतदानस्थल रहेको जिल्ला सुरक्षा समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेशबहादुर पालले बताउनु भएको छ । स्थानीय निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचनपश्चात एकिकृत सुरक्षा योजना अनुसार सुरक्षाको प्रवन्ध मिलाउने व्यवस्था गरिएका डिएसपी पालले बताउनु भएको छ । स्थानीय निर्वाचनको दिन ज्येष्ठ नागरिक, गर्भवति, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई लाइनमा बस्नु नपर्ने गरी व्यवस्थापन गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख मानवप्रसाद फुयालले बताउनु भयो । जिल्लामा ७४ हजार ७ सय २९ महिला, ७३ हजार ८ सय ८३ पुरुष र दुई अन्य गरी १ लाख ४८ हजार ६ सय ६ जना मतदाता रहेका छन् ।

इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार नौ ओटा स्थानीय तह रहेको यस जिल्लामा ११ ओटा अति संवेदनशील, ११ ओटा संवेदनशील र ८८ ओटा सामान्य गरी १ सय १० ओटा मतदानस्थल रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । आगामी वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचन २०७९ का लागि जिल्लामा १४ ओटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय मान्यता प्राप्त चार ओटा र मान्यता प्राप्त नभएका साना १० गरी १४ ओटा दलले निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालयले जनाएको हो । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत प्रदीपसिह धामीका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले साना १० दल क्रमसः राष्ट्रिय जनमोर्चा, उन्नत लोकतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी समाजवादी, राप्रपा नेपाल, राप्रपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मौलिक ज्वारोकिलो पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी राष्ट्रबादी तथा नेपालका लागि नेपाली पार्टीले चुनाव चिह्नका लागि विवरण बुझाएको धामीले बताउनु भयो । स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लामा ४५ हजार १ सय ११ पुरुष र ४३ हजार १ सय ७४ महिला गरी ८८ हजार २ सय ८५ मतदाता रहेको निर्वाचन आयोग नेपालले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा उल्लेख छ । त्यसैगरी जिल्ला भरी १ सय १० मतदानस्थल र १ सय ३९ मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले पाँच वर्षको अवधिमा मृत भएका ६ सय २ जनाको नाम मतदाता विवरणबाट हटाइएको निर्वाचन अधिकृत धामीले जानकारी दिनु भयो ।

इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार १३ ओटा स्थानीय तह रहेको यस जिल्लामा ५२ ओटा अति संवेदनशील, ५३ ओटा संवेदनशील र १ सय ३१ सामान्य गरी २ सय ३६ मतदानस्थल रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । आगामी वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचन २०७९ का राष्ट्रिय मान्यता प्राप्त ६ ओटा र मान्यता प्राप्त नभएका साना २४ ओटा दल गरी ३० ओटा दलले निर्वाचनमा भाग लिने जिल्ला निवार्चन कार्यालयका प्रमुख प्रेमराज भट्टले बताउनु भयो । राष्ट्रिय मान्यता प्राप्त दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र लोकतान्त्रिक समाजवादीले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले साना २४ दलले चुनाव चिह्नका लागि विवरण बुझाएको भट्टले बताउनु भयो । स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लामा ५ लाख २५ हजार १ सय २५ मतदाता रहेकोमा २ लाख ६९ अजार १० जना महिला, २ लाख ५६ हजार १ सय ४ जना पुरुष र ११ जना एलजिबिटिक्यू समुदायका व्यक्ति रहेको निर्वाचन आयोगले प्रकाशन गरेको मतदाता नामावलीमा उल्लेख गरिएको छ । स्थानीय तह निर्वाचनका लागि १३ जना निर्वाचन अधिकृत तोकिएको र जिल्लाको मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतका मुख्य न्यायाधीश जयानन्द पनेरुलाई तोकिएको जिल्ला निवार्चन कार्यालयका प्रमुख प्रेमराज भट्टले बताउनु भयो ।

इन्सेक कञ्चनपुर प्रतिनिधि लिली कुँवरका अनुसार नौ ओटा स्थानीय तह रहेको यस जिल्लामा ६८ ओटा अति संवेदनशील, २६ ओटा संवेदनशील र ३८ ओटा समान्य गरी १ सय ३२ ओटा निर्वाचन स्थल रहेको जिल्ला सुरक्षा समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले बताउनु भएको छ । निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावली अनुसार जिल्लामा मतदाताको सङ्ख्या २ लाख ९५ हजार ३ सय ५४ रहेको छ । जसअनुसार पुरुष मतदाताको सङ्ख्या १ लाख ४३ हजार २ सय ४१, महिला मतदाताको सङ्ख्या १ लाख ५२ हजार १ सय १२ रहेको छ । पुरुष भन्दा महिला मतदाताको सङ्ख्या ८ हजार ८ सय ७१ ले बढी छ । नौ ओटा स्थानीय तह रहेको यस जिल्लामा सबै भन्दा बढी भीमदत्त नगरपालिकामा ३२ हजार ६ सय २१ पुरुष र ३४ हजार २९ जना महिला गरी ६६ हजार ६ सय ५० जना मतदाता रहेका छन् ।  सबै भन्दा कम मतदाता लालझाँडी गाउँपालिकामा ६ हजार ९ सय ८० पुरुष र ७ हजार ३६ जना महिला गरी १४ हजार १६ जना मतदात मात्रै छन् । स्थानीय तह निर्वाचनका लागि जिल्लामा राष्ट्रिय मान्यता प्राप्त ६ ओटा र मान्यता प्राप्त नभएका साना १७ गरी २३ ओटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयलका सूचना अधिकारी भानबहादुर महराले बताउनु भएको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी महराका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी), लोकतान्त्रिक समाजवादी पार्टीले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले साना १७ दलले चुनाव चिह्नका लागि विवरण बुझाएका छन् । निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार नेपाल परिवार दल, राप्रपा नेपाल (राष्ट्रिय प्रजातन्त्र पार्टी),नेपाल दलित पार्टी,संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) जनसमाजवादी पार्टी नेपाल ,नेपाल मजदुर किसान पार्टी, नेकपा–(माले), संघीय लोकतान्त्रिक जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाली कांग्रेस (वि.पी.), सामाजिक एकता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, विवेकशील साँझा पार्टी, उन्नत लोकतन्त्र पार्टी गरी १७ ओटा पार्टीले दल दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकारी महराले  बताउनु भयो ।

अन्य

भिडियो