स्थानीय तह निर्वाचन ०७९ लाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन राजनीतिक दलहरूका प्रमुखहरूले प्रतिबद्धता जनाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय हुम्लाले चैत २७ गते अयोजना गरेको कार्यक्रममा हुम्ला जिल्लामा क्रियाशील राजनीतिक दलहरूका प्रमुखहरूले निर्वाचन आचार संहितालाई पुर्ण रुपमा पालन तथा कार्यन्वयन गर्न प्रतिबद्धता जनाएका हुन् ।
आगामी वैशाख ३० गते ताकिएको निर्वाचनका लागि राजनीतिक दलहरूको तर्फबाट नेकपा एमालेका अध्यक्ष कलबहादुर हमाल, नेपाली कांग्रेसका सभापति मोहनविक्रम सिंह, एकीकृत नेकपा माओवादी केन्द्रका संयोजक डाक्टर दिपेन्द्र रोकाया, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तिर्थराज रोकाया, राप्रपा नेपालका अध्यक्ष विकास महतलगायतले निर्वाचन आचारसंहिता विपरीत कुनै पनि क्रियाकलाप नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनितिक दलहरू लगायत सरोकारवालाले स्थानीय तह निर्वाचन ऐन, २०७३, निर्वाचन आचारसंहिता तथा निर्वाचन आयोगबाट प्राप्त निर्देशनहरूलाई कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्लामा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि राजनिति दलका प्रमुख एवम् प्रतिनिधि आफैँ लाग्नु पर्ने प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले बताउनु भयो ।
उहाँले भन्नु भयो–‘राजनीतिक दलसँगै प्रहरी प्रशासनले पनि समन्वयको पाटोमा जोडिनु पर्ने आवश्यक्ता रहन्छ ।’
चैत २५ गतेदेखि निर्वाचन आंचारसंहिता लागु भइसकेकाले सोको पालना गर्नु सम्बन्धित सबैको दायित्व हुने प्रदेशसभा सदस्य दल रावलले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी सीता परियारले निर्वाचनलाई सहज र शान्तिपुर्ण ढङ्गले सम्पन्न गराउनका लागि दलका प्रमुहरूलाई अनुरोध समेत गर्नु भएको थियो ।
