INSEC Online

📅 २०८३ जेष्ठ २१

छात्राहरूमाथि यौन दुर्व्यवहार गर्ने शिक्षकहरूलाई कारबाही नभएको भन्दै विद्यार्थीद्वारा विद्यालयमा प्रदर्शन र तोडफोड

छात्राहरूमाथि यौन दुर्व्यवहारको आरोप लागेका तीन जना शिक्षकलाई कारबाही नभएको भन्दै बागमती गाउँपालिका–८ मा रहेको जनता मावि फापरबारीका विद्यार्थीले ०७८ चैत २२ गते विद्यालयमा विरोध प्रदर्शन  र तोडफोड गरेका छन् ।

विद्यालयका शिक्षकहरू रुद्रबहादुर विक, हेमबहादुर विक र लोकबहादुर विकले कक्षाकोठामा रहँदा गलत नियतले संवेदनसील अङ्गहरूमा छुने, अपशब्द बोल्ने गरेको कक्षा ९, १० र ११ मा अध्ययनरत १५ जना भन्दा बढी छात्राहरूको आरोप छ ।

सरहरूको कक्षामा बेन्चको छेउमा समेत बस्न डरमर्दो हुने गरेको छात्राहरूको भनाई छ । तीन जनै शिक्षकहरूले पछिल्लो डेड महिनादेखि छात्रामाथि यौन दुर्व्यवहार गरेको भनी ०७८ चैत १४ गते विद्यालयमा निवेदन दिएका थिए ।

निवेदनमा छलफल गर्न चैत २२ गते विद्यालय परिसरमा बैठक बसेको थियो । बैठकमा भएको छलफलमा चित्त नबुझेको भन्दै आक्रोशित विद्यार्थीहरूले तोडफोड गरेका हुन् ।

तोडफोडबाट १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रध्यानाध्यापक बसन्त राईले बताउनु भयो ।

स्थानीय समेत रहेका तीनै जना शिक्षक केही दिनदेखि बिदामा बसेको जानकारी आएको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल लुङ्गेलीले बताउनुभयो ।

उहाँले प्रहरीमा कुनै उजुरी नआएको बताउँदै घटनाको आवश्यक थप अनुसन्धान भइरहेको बताउनुभयो ।

अन्य

भिडियो