बूढानीलकण्ठ नगरपालिका–१० आकाशेधारा बस्दै आएकी ३० वर्षीया अस्मिता चौधरीलाई तारपिन तेल खन्याएर आगो लगाएर घाइते तुल्याएको आरोपमा सिरहाको लहान नगरपालिका–७ घर भएका पति ४२ वर्षीय प्रवीण चौधरीलाई प्रहरीले चैत ११ गते राती गिरफ्तार गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार आरोपितले पत्नी अस्मितालाई चैत ११ गते राती सुतिरहेको अवस्थामा तारपिन तेल खनाएर आगो लगाएका थिए ।
मैनालीका अनुसार आगो लागेर गम्भीर घाइते भएकी पीडितलाई महानगरीय प्रहरी प्रभाग कपनको टोली र स्थानीयको सहयोगमा उद्धार गरेर उपचारका लागि राति नै साँखुस्थित सुष्मा कोईराला मेमोरियल अस्पतालमा पुर्याइएको थियो ।
पीडितको शरीरका विभिन्न अङ्ग जलेको र उपचार जारी रहेको र पीडितको तर्फबाट उजुरी प्राप्त हुन बाँकी रहेको एसपी मैनालीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।