जिल्ला कारागार, अछाममा क्षमता भन्दा बढी कैदीबन्दीहरु राखिदै आएपनि कैदैबन्दीहरुको अनुपातमा कारागार व्यवस्थापन नगरिदा कैदीबन्दीहरु ग्यालरीमा सुत्न बाध्य भएका छन् ।
जिल्ला कारागारमा कैदीबन्दी थपिएसँगै कोठाको अभावमा ग्यालरीमा सुत्नु पर्ने बाध्यता रहेको कैदीबन्दीका नाइके मोहन रावलले गुनासो गर्नु भयो ।
क्षमता भन्दा बढी कैदीबन्दीहरु राखिदै आएपछि कारागारमा कोठाको अभाव हुनगई पुरुष कैदीबन्दीहरु ग्यारलीमा सुत्दै आएको नाइके रावलको भनाइ छ ।
५० जना पुरुष कैदीबन्दीको क्षमता रहेको जिल्ला कारागारमा हाल ७४ जना कैदीबन्दीहरुलाई राख्नु पर्दा कोठाको अभाव भएको जिल्ला कारागारका निमित्त जेलर धनबहादुर शाहीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘कोठा अभावमा कैदीबन्दीहरु कोचिएर बस्नु पर्ने अवस्था आएको छ । ग्यालरीमा समेत सुताउनु पर्ने बाध्यता छ । खानेपानी र शौचालयको समेत समस्या उत्पन्न भएको छ ।’
कारागारमा घेरा पर्खाल नहुँदा समेत कैदीबन्दीलाई सुरक्षा दिन असहज भइरहेको र पर्खालको अभावमा सडकमाथिबाटै मानिसहरु कारागार भित्र खानेकुरालगायतका समाग्री फाल्ने गरेकाले असहजता भइरहेको निमित्त जेलर शाहीले बताउनु भयो ।