मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकपछि पुस्तक र मानव अधिकारका समसामयिक विषयहरूमा छलफलको लागि इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बाँके जिल्लाका सरोकारवाला व्यक्तिहरूसँग फागुन २७ गते भेटघाट गर्नुभएको छ ।
इन्सेक कार्यकारी निर्देशक गौतम र इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले जिल्ल प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुधन न्यौपानेसँग भेटघाट गर्नु भएको हो ।
भेटका क्रममा कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले ७७ ओटै जिल्लामा रहेका इन्सेक प्रतिनिधिबाट मानव अधिकारसँग जोडिएका घटनाहरूको सङ्कलन गरी तथ्य विश्लेषणसहित जिल्लागत र प्रादेशिक रूपमा समेष्टिकृत गरी पुस्तक प्रकाशन हुँदै आएको जानकारी गराउनु भयो ।
भेटमा जिल्ला प्रहरी कार्यालयका एसपी अधिकारीले बाँके जिल्लामा बाल विवाहको मुद्दा जटिल बन्दै गएको बताउनु भयो । घरपरिवारले लुकाएर विवाह गरिदिने र पछि बाल विवाहको कुरा बाहिर आए बेचविखन र बलात्कार अभियोगमा मुद्दा दर्ता गर्ने पाइएकोले कार्य सम्पादनमा चुनौती रहेको अधिकारीले बताउनु भयो ।
एसपी अधिकारीले जिल्लामा लागु औषध र चोरीका मुद्दाहरू बढेको बताउदै रोकथामकालागि आवश्यक जनशक्ति नभएकोले शान्ती सुरक्षा कायम राख्न गाह्रो रहेको बताउनु भयो ।

हिरासत अनुगमन
इन्सेक कार्यकारी निर्देशक गौतमको टोलीले जिल्ला प्रहरी कार्यालयको हिरासत अनुगमनसमेत गरेको छ । अनुगमनका क्रममा हिरासतमा रहेका थुनुवाहरूलाई भेटेर हिरासतको अवस्थाका बारेमा जानकारी लिएका थिए ।
हिरासतमा ६५ जना थुनुवाहरू रहेको, थुनुवाहरू बढी भएका कारण सुत्न समस्या रहेको, गर्मीको समयमा लामखुट्टे लाग्ने गरेको पाइएको प्रदेश संयोजक महतले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी न्यौपानेले प्रहरीको भौतिक संरचना पर्याप्त नभएको कारण थुनुवा र प्रहरीहरुको व्यवस्थापन गर्नमा समस्या रहेको बताउनु भयो ।
न्यौपानेले ६० जना प्रहरीहरूलाई सुत्नकोलागि खाट नभएको बताउदै आलो पालो सुत्नु पर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले प्रहरीहरूलाई सुत्ने ठाउँ नभएको कारण व्यवस्थापनमा समस्या रहेको बताउनु भयो ।
इन्सेक प्रदेश कार्यालयका कर्मचारीहरूसँग छलफल
कार्यकारी निर्देशक गौतमले इन्सेक लुम्बिनी प्रदेश कार्यालयका कर्मचारीहरूसँग प्रदेशमा भइरहेका कामका बारेमा जानकारी लिनु भएको थियो ।
परियोजनामा रहेका सबै कार्यक्रमहरू समयमा सम्पन्न गर्न कार्यकारी निर्देशक गौतमले सुझाउनु भएको थियो ।
