INSEC Online

📅 २०८३ जेष्ठ २१

महिलालाई आत्मनिर्भर बनाउन जरुरीः सरोकारवाला

नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले महिलामाथि हुने सबै खाले हिंसा रोकथाम गर्न र आत्मनिर्भर बनाउन सीप र क्षमताको विकास गर्नुपर्ने बताउनु भएको छ ।

१ सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दैलेख सदरमुकाममा आयोजित खुलामञ्चको कार्यक्रममा उहाँले महिलाहरुको क्षमता विकास र आत्मनिर्भरता अभिबृद्धिका निम्ति सरकारले थुप्रै कार्यक्रमहरु ल्याएको तर ती कार्यक्रमहरुको उचित सदुपयोग हुनुपर्ने आवश्यकता औँल्याउनु भयो ।

कार्यक्रममा नेपाल कांग्रेसका महाधिवेसन प्रतिनिधि मीना थापाले महिला तथा पिछडिएको जाति, वर्ग, क्षेत्र र समुदायका निम्ति सङ्घ, प्रदेश र स्थानीय सरकारले ठोस कार्यक्रमहरु ल्याउन नसकेको टिप्पणी गर्नु भयो ।

महिला नेतृ सरस्वती श्रेष्ठले स्थानीय सरकार आएपछि बढाउँदै लग्नुपर्नेमा महिला तथा लक्षित वर्गका बजेट कार्यक्रम कटौती गरिएकोमा आपत्ति जनाउनु भयो ।

जनता आधारभूत विद्यालय जाहरकोटकी प्रधानाध्यापक मेनुका गौतमले महिलाहरुको सशक्तिकरण बढ्दै आए पनि पछाडि पारिएका महिलाहरुले लाभ लिन नसकेको बताउनु भयो ।

कार्यक्रम स्थलमा पञ्चकोशी ज्वाला युवा प्रतिष्ठानले बाल विवाह रोकथामसम्बन्धी सडक नाटक प्रस्तुत गरेको थियो ।

दिवसकै अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले अतिथि र कार्यक्रमका सहभागीहरुलाई ‘म हिंसा गर्दिन, हिंसा सहदिन’ भन्ने प्रतिवद्धतामा हस्ताक्षर गराएको थियो ।

सदरमुकामको गणेशचोकबाट नारा, प्लेकार्ड सहितको जुलुसले नयाँबजार, देवकोटाचोक, पुरानोबजार हुँदै नगर परिक्रमापछि सभामा परिणत भएको थियो ।

नारायण नगरपालिका, सोसेक, इन्सेक, सुन्दर नेपाल संस्था, सीवीओ महासङ्घ, एभरेष्ट क्लव, सीएमसी, महिला सशक्तिकरण मञ्च, नेपाल परिवार नियोजन संघ लगायतको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको थियो ।

सन् १९०९ मा संयुक्त राष्ट्र सङ्घको निर्णय अनुसार सन् १९१० मा कोपेनहेगनमा भएको दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलनले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउन थालिएको हो ।

photo20220308dailekh (2)

photo20220308dailekh (3)

photo20220308dailekh (4)

photo20220308dailekh (5)

अन्य

भिडियो