११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ‘लैंगिक समानता सामाजिक समावेसिकरण नीति विषयक’ अन्तरसंवाद कार्यक्रम ०७८ फागुन २३ गते हेटौँडामा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य तथा सामाजिक विकास मन्त्रालयका पूर्वराज्य मन्त्री जुनेली श्रेष्ठले अझै पनि समाजमा महिला हिंसाको समस्याहरू रहेको बताउनुभयो ।
आफूले महिला हकहितको सुनश्चिताको लागि राजनीतिमा महिला सहभागिता, सामाजिक क्षेत्रमा महिलाहरूको समानुपातिक सहभागिता लागि सधै बहस उठाइरहेको बताउनुभयो ।
उहाँले मानव अधिकार, महिला अधिकार तथा महिला हिंसा विरुद्धको अभियानमा आफ्नो पनि निरन्तर सक्रिय सहभागिता रहेको बताउनुभयो ।
श्रेष्ठले आफुले बागमती प्रदेशको राज्यमन्त्रीको ४९ दिनको जिम्मेवारी लिँदा महिला तथा बालबालिकाको लागि विभिन्न कार्यक्रम तयार पारिरहेको तर राजनीतिक घटनाक्रमको कारण जिम्मेवार मुक्त हुँदा काम अपुरै रहेको बताउनुभयो ।

राज्यमन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले चार वर्ष बित्दा पनि महिला, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकोे लागि कुनै पनि नीति निर्माण गर्न नसकेको बताउनसभयो ।
उहाँले नीति तथा कार्ययोजना नबन्दा अझै पनि हिंसाका घटनाहरू उत्तिकै रहेको जिकिर गर्नुभयो ।
उहाँले महिला हकहित अधिकारको लागि महिला नै राजनीतिमा आउनुपर्ने भन्दै राजनीतिक क्षेत्रमा महिला अघि नबढेसम्म महिला हकहित तथा संरक्षणको नीति निर्माण हुन नसक्ने दाबी समेत गर्नुभयो ।
यसैगरी कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कार्यकारी निर्देशक विजयराज गौतमले हिंसा सम्बन्धी हुने अपराधमा ६० प्रतिशत महिला हिंसा सम्बन्धी अपराध हुने गरेको बताउनुभयो । उहाँले आफुहरू पनि महिला हिंसा विरुद्धकै अभियानमा साथ रहेको बताउँदै मानव अधिकार तथा संरक्षणमा लागि इन्सेक सदैव साथमा रहिरहेको र रहने बताउनुभयो ।
यस्तै शान्तिका लागि साझा अभियान (कोक्याप) का केन्द्रीय कोषाध्यक्ष अर्जुन ढकालले महिला हक हितका लागि कोक्याप सधै साथमा रहेको रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको संजाल मकवानपुरका अध्यक्ष आरती पाठकको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाको उपाध्यक्ष हर्कमाया रुम्बा, मनहरी गाउँपालिकाको उपाध्यक्ष मनिला विष्ट, गैसस महासङ्घ केन्द्रीय सचिव बुद्धशरण लामा, सदस्य ईन्दिरा न्यौपाने, डेक नेपालका निर्देशक कोपिला डंगोल, सञ्चारिका समूहको बागमती प्रदेश संयोजक सरिता दाहाल लगाएत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, मानव अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।

