INSEC Online

📅 २०८३ जेष्ठ २१

सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ भएपछि ज्येष्ठ नागरिक समस्यामा

नेपालको संविधान २०७२ को धारा ४१ मा ज्येष्ठ नागरिकको हक अन्तर्गत विषेश संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनेर व्यवस्था गरिएको भएपनि आठ महिना वितिसक्दा पनि सामाजिक सुरक्षा वापतको भत्ता रकम वितरणमा ढिलाइ भएपछि ज्येष्ठ नागरिकहरु समस्यामा परेका छन् ।

चार / चार महिनामा पाउनु पर्ने सामाजिक सुरक्षा वापतको रकम आठ महिना वितिसक्दा समेत पाउन नसक्दा आफूहरु समस्यामा परेको भिमदत्त नगरपालिका–१८ का ९२  वर्षीया धाना जोशीले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– “भत्ता आएपछि जाडोमा लुगा किनौला भन्ने आस थियो । जाडोपनि वित्न लागि सक्यो । भत्ताको रकम पाएका छैनौँ ।”

सामाजिक सुरक्षा भत्ता बाटै औषधि उपचार गर्दै आएकी भएपनि आठ महिनादेखि सामाजिक सुरक्षा भत्ताको रकम नपाएपछि उपचार तथा औषधि किन्न समस्या भएको भिमदत्त नगरपालिका–६ शुकाशालकी ८९ वर्षीया कलावतीदेवी धामीले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– “छोराबुहारीबाट समेत अपहेलित हुनु परेको छ । परिवारले नहेर्दा पनि सामाजिक सुरक्षा भत्ता वापतको रकम समयमै पाउन सकेको बेला समस्या थिएन् । बिरामी छु , औषधि खानु पर्छ । भत्ता रकम पाएपछि उपचार गर्न जाउँला सोचेकी थिए  । पहिला पहिला त समय मै घर मै भत्ता आउथ्यो । अहिले बैङ्कबाट बुझ्न समस्या छ । त्यो पनि समयमै पाउन नसक्दा दैनिक गुजारा गर्न पनि समस्या भएको छ ।”

सामाजिक सुरक्षा भत्ता रकमबाटै पत्तीको उपचार गर्दै आएको भएपनि यसपटक भत्ता नपाउँदा उपचार नै गर्न नसकिएकोले पत्ती हिडडुल गर्न नसक्ने अवस्थामा रहेको भिमदत्त नगरपालिका–१८ प्रगति टोलका ८७ वर्षीय कल्याणसिंह कुँवरले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘सामाजिक सुरक्षा भत्ता समयमै पाउन नसकेको कारण पनि आफूहरुलाई थाँहा छैन् । कसैले जानकारी पनि दिएका छैनन् ।’

राष्ट्रिय ज्येष्ठ नागरिक समाज, नेपालका केन्द्रीय उपाध्यक्ष गंगाराम गिरीले भीमदत्त नगरपालिकामा ७० वर्ष पुगेका १ हजार २ सय ७० जना गरी २ हजार ३ सय जना व्यक्तिहरुले विगत आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता वापतको रकम नपाएर समस्या भएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘भत्ताको कार्ड नविकरण नगरिएकोले भत्ता रकम समयमै दिन नसकिएको नगरपालिकाले बताएको छ । तर, बत्ताको कार्ड नविकरण गर्नु पर्ने भन्ने सूचना नै धेरैजसो ज्येष्ठ नागरिकहरुले पाउनु भएको छैन् । नविकरण गर्ने कार्यमा नगरपालिकाले नै सहजीकरण गरी सहयोग गरी दिनु पर्छ । ज्येष्ठ नागरिकहरुले भत्ता रकम बैङ्क मार्फत नभएर जनप्रतिनिधिहरुले घरघरमा दिने व्यवस्था मिलाउन पनि माग गरेका छन् । ’

भिमदत्त नगरपालिका कार्यालयका प्रवक्ता हिमाल चन्दले ज्येष्ठ नागरिकहरुले भत्ता कार्ड समयमै नविकरण नगरि दिएका कारण भत्ता रकम वितरण गर्न ढिलाइ भएको बताउनु भयो ।

उहाँलो भन्नु भयो–  ‘साउनदेखि असोजमहिनासम्म अनलाइन नविकरण गर्ने समय थियो । यसका लागि सूचना पनि सार्वजनिक गरिएको थियो । सम्पर्कमा आउनु भएकाहरुको नविकरण गरियो । सूचना नपाएर सम्पर्कमा नआउनु भएकाहरुको नविकरण हुन सकेन् ।’

नविकरण गर्न छुटेकाहरुको पुनः नविकरण गर्नका लागि विभागमा आग्रह गरिएको र उहाँहरुको पनि सफ्टवयरमा भत्ता कार्ड नविकरण भइसकेपछि दोस्रो चौमासिकमा भत्ता रकम वितरण गरिने प्रवक्ता चन्दले बताउनु भयो ।

अन्य

भिडियो