INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश १ मा ३१ लाख ३६ हजार ६ सय ६२ जना मतदाता- निर्वाचन आयोग

नेपालले नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी सन् १९६६ लाई वि.स.०३२ चैत १० गते पक्ष राष्ट्रको रूपमा अनुमोदन गरी लागू गरेको छ ।

नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीले धारा २५ मा प्रत्येक नागरिकलाई प्रत्यक्ष रूपमा वा स्वतन्त्र रूपमा प्रतिनिधि छनौट गर्न वा छानिएका प्रतिनिधिहरूमार्फत् सार्वजनिक जीवन सञ्चालनमा भाग लिने पाउने अधिकार सुनिश्चित गरेको छ ।

सोही धारामा सर्वव्यापी तथा समान मताधिकारबाट र गोप्य मतदानबाट मतदाताहरूको इच्छाको स्वतन्त्र अभिव्यक्तिको प्रत्याभूति गर्ने निर्वाचनहरूमा मतदान गर्ने र निर्वाचित हुने अधिकारलाई सुनिश्चित गरेको छ ।

नेपाल संविधानले भाग २४, धारा २४५ मा निर्वाचन आयोगलाई संवैधानिक निकायका रूपमा व्यवस्था गरेको छ ।

निर्वाचन आयोगले १८ वर्ष पुरा भएका प्रत्येक नागरिकलाई बालिग मताधिकारको अधिकार प्रदान गरेको छ । निर्वाचन आयोगले बालिग मताधिकारलाई नागरिक अधिकार भनि परिभाषित गरेको छ ।

०७८ माघ २४ गते मन्त्रीपरिषद् बैठकबाट ०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरिएको छ । सरकारको निर्णयसँगै निर्वाचन आयोगले माघ २४ गतेदेखि मतदाता नामावली सङ्कलन गर्ने कार्य स्थगित गरेको छ ।

प्रदेश निर्वाचन कार्यालय मोरङले प्रदेश १ मा १५ लाख ८५ हजार ४ सय ४६ जना पुरूष मतदाता, १५ लाख ५१ हजार १ सय ९७ जना महिला मतदाता र अन्यमतदाता १९ जना गरी ३१ लाख ३६ हजार ६ सय ६२ जना मतदाता रहेको जनाएको छ ।

उदयपुर प्रतिनिधि सुजाता ढुङ्गानाका अनुसार सरकारले ०७९ वैशाख ३० गते घोषणा गरेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा ४९ हजार २ सय ५० जना मतदाता थपिएका छन् । ०७४ को स्थानीय तहको निर्वाचनमा १ लाख ७७ हजार ६ सय मतदाता रहेको जिल्लामा निर्वाचन आयोगले ०७८ मङ्सिर १७ गतेदेखि १९ गतेसम्म गाँउपालिका र नगरपालिकामा सङ्कलन गरेको नामावलीका आधारमा मतदाता सङ्ख्या बढेर २ लाख २६ हजार ८ सय ५० जना पुगेको जिल्ला निर्वाचन अधिकृत हिमालयन बरालले बताउनु भयो । बरालका अनुसार त्रियुगा नगरपालिकामा सबै भन्दा धेरै १२ हजार ४ सय २१ जना मतदाता थपिएका छन् । त्यस्तै सबै भन्दा कम लिम्चुङबुङ गाउँपालिकामा ७ हजार ४८ जना मतदाता थपिएका छन् ।

त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकामा पुरूष भन्दा महिला मतदाताको सङ्ख्या बढी भएको निर्वाचन कार्यालयले जनाएको छ । त्रियुगामा ३० हजार १ सय ८२ जना पुरूष मतदाता हुँदा महिला मतदाताको सङ्ख्या ३० हजार ४ सय ७३ रहेको छ । चौदण्डीगढी नगरपालिकामा १९ हजार ४ सय ५० पुरूष मतदाता र १९ हजार ८ सय ८१ जना महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्रियुगा नगरपालिकामा तेस्रो लिङ्गी दुई जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकृत बरालले बताउनु भयो ।

पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार जिल्लामा मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम दुई चरणमा सम्पन्न गरिएको छ । पहिलो चरण ०७८ मङ्सिर १६ गते देखि २६ गतेसम्म र दोस्रो चरण मङ्सिर २९ गतेदेखि पुस १० गते सम्म प्रत्येक स्थानीय तहमा केन्द्र तोकेर मतदाता नामावली सङ्कलन गरिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत कुमारप्रसाद भट्टराइले बताउनु भयो ।

जिल्लामा ०७४ सालको निर्वाचनमा १ लाख २५ हजार २ सय २१ जना मतदाता रहेकोमा आगामी वैशाख ३० गते हुने निर्वाचनमा १ लाख ३२ हजार ७ सय ९९ जनाले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रमा मिक्लाजुङ गाँउपालिकामा ४ सय २० जना महिला र ६ सय ६९ पुरूष गरी १ हजार ८९ जना, तुम्बेवा गाउँपालिकामा १ सय ८२ महिला र ३ सय ३७ जना पुरूष गरी ५ सय १९ जना, फाल्गुनन्द गाउँपालिकामा २ सय १७ जना महिला र ३ सय २४ जना पुरूष गरी ५ सय ४१ जना, कुम्मायक गाउँपालिकामा १ सय २१ जना महिला र २ सय ५९ जना पुरूष गरी ३ सय ८० जना, याङवरक गाउँपालिकामा ३ सय २९ जना महिला र ५ सय १५ जना पुरूष गरी ८ सय ४४ जना, हिलिहाङ गाउँपालिकामा १ सय ७७ जना महिला र २ सय ७९ पुरूष गरी ४ सय ५६ जना, फालेलुङ गाँउपालिकामा १ सय ३५ जना महिला र २ सय ६ जना पुरूष गरी ३ सय ४१ जना मतदाता नामावलीमा सूचीकृत भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा जिल्लामा  १ हजार ५ सय ८१ जना महिला र २ हजार ५ सय ८९ जना पुरूष गरी ४ हजार १ सय ७० जना मतदाताले नामावली नाम दर्ता गरेको निर्वाचन अधिकृत कुमारप्रसाद भट्टराईले बताउनु भयो ।

खोटाङ प्रतिनिधि तारानाथ फुयलका जिल्लामा ११ हजार ९ सय २ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख राजेश गौतमले जानकारी दिनु भयो । ०७४ को  निर्वाचनमा १ लाख ३४ हजार ९६ जना मतदाता रहेकोमा आगामी वैशाखमा हुन निर्वाचनका लागि ११ हजार ९ सय २ जना मतदाता थपिएको गौतमको भनाइ छ । गत निर्वाचनमा ६४ हजार ३ सय २ जना महिला मतदाता र ६९ हजार ७ सय ९४ जना पुरूष मतदाता रहेको निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा कुल मतदाता महिला ६९ हजार ४ सय ४८ जना र पुरूष मतदाता ७६ हजार ५ सय ५० जना रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्रकुमार राईले बताउनु भयो ।

इन्सेक प्रदेश १, कार्यालय विराटनगरका अनुसार ०७९ वैशाख ३० गतेका लागि तय भएको निर्वाचनमा मोरङबाट थप ७ लाख मतदाताले मतदान गर्न सक्ने प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवनकश्यप अधिकारीले बताउनु भयो । जिल्लामा ०७८ पुस ५ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा दर्ता भएको मतदाताको सङ्ख्या ६ लाख ६९ हजार ४ सय ९० रहेको निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । ०७८ माघ २४ गतेसम्ममा जिल्लामा सङ्कलन भएको मतदाता सङ्ख्या ४८ हजार ५ सय २४ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा १२ हजार भन्दा बढी मतदाता थपिएका छन् । आगामी वैशाख ३० गते ७ सय ५३ ओटै स्थानीय तहको निर्वाचन गर्ने निर्णय सरकारले गरेसँगै  निर्वाचन आयोगले जिल्लामा फोटोसहितको नामावली सङ्कलन स्थगित गरेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा पछिल्लो समय १३ हजार ९ सय ९६ जना मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो । ०७४ सालको स्थानीय तह चुनावपछि अहिले १३ हजारभन्दा बढी नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । थपिएका मतदाताहरूमा ७ हजार ७ सय ७० जना पुरूष र ६ हजार २ सय २६ जना महिला मतदाता छन् । जिल्लामा ०७४ सालको स्थानीय तहको निर्वाचनमा ९६ हजार ६ सय ६६ जना मतदाता रहेका थिए ।

भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लामा २१ हजार ३ सय ६४ जना मतदाता थप भएका छन् । ०७४ को स्थानीय तह निर्वाचन भन्दा आगामी वैशाख ३० गतेका लागि तय भएको निर्वाचनका लागि २१ हजार बढी मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालय खेमराज कोइरालाले बताउनु भयो । जिल्लामा ०७४ सालको निर्वाचनमा अरूण गाउँपालिकामा १० हजार ५ सय ४६ जना, आमचोक गाउँपालिकामा ११ हजार ४० जना, टेम्केमैयुङ गाउँपालिकामा ११ हजार २ सय ४७ जना, पौवादुङमा गाउँपालिकामा ९ हजार १ सय ३६ जना, भोजपुर नगरपालिकामा १५ हजार ७ सय ९ जना, रामप्रसादराई गाउँपालिकामा १० हजार ७ सय ३१ जना, षडानन्द नगरपालिकामा १८ हजार १ सय ५२ जना, साल्पासिलिछो गाउँपालिकामा ७ हजार १ सय ९४ जना र हतुवागढी गाउँपालिकामा १२ हजार ७ सय ७९ जना गरी जम्मा १ लाख ६ हजार ५ सय ३४ मतदाताको संख्या रहेको थियो । हाल त्यो सङ्ख्यामा वृद्धि भएर अरूण गाउँपालिकामा १३ हजार ८२ जना, आमचोक गाउँपालिकामा १२ हजार ८ सय २८ जना, टेम्केमैयुङ गाउँपालिका १३ हजार ८ सय ७५ जना, पौवादुङमा गाउँपालिकामा १० हजार ८ सय ६८ जना, भोजपुर नगरपालिकामा १९ हजार ७ सय ५१ जना, राामप्रसादराई गाउँपालिकामा १२ हजार ४ सय ७७ जना, षडानन्द नगरपालिकामा २१ हजार ८ सय १३ जना, साल्पासिलिछो गाउँपालिका ८ हजार ८ सय ९८ जना र हतुवागढी गाउँपालिका १४ हजार ३ सय ६ गरी मतदाताको सङ्ख्या १ लाख २७ हजार ८ सय ९८ पुगेको छ ।

निर्वाचन कार्यालयले मानव अधिकार तथा मतदाता शिक्षा सम्वन्धी विभिन्न खाले सचेतना मुलक कार्यक्रम सञ्चालन गरेको भए पनि मताधिकार तथा मानव अधिकारको विषयमा नागरिकहरूमा चेतनाको विकास हुन नसकेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख खेमराज कोइरालाले बताउनु भयो । निर्वाचन कार्यालयका प्रमुख कोइरालाले भन्नुभयो ‘नागरिकहरूमा मताधिकार भनेको मेरो नैर्सगिक अधिकार हो भन्ने चेतनाको विकास अहिलेसम्म पनि भएको छैन, निर्वाचनको मिति नजिक हुँदै गर्दा राजनीतिक दलका नेताले मतदाता नामावाली दर्ता गर्न ल्याउने गरेका छन् , तर आँफै आउनेको सङ्ख्या भने ज्यादै न्युन थियो।’ निर्वाचनको बेला मतदान गर्नुपर्छ भन्ने थाहा भए पनि मानव अधिकारको विषयमा भने त्यति धेरै जानकारी नभएको रामप्रसादराई गाउँपालिका–४ का ३४ वर्षीय ज्ञानबहादुर कार्कीले बताउनु भयो । कार्कीले भन्नुभयो ‘म ५ वर्ष विदेश बसे ०७४ सालको निर्वाचमा मतदान त गरियो तर यस विषयमा भने कसैले पनि जानकारी दिएनन्, राजनीतिक दलले पनि भोट चै मागे तर अरू कुराको खासै जानकारी दिएनन् ।’ टेम्केमैयुङ गाउँपालिका–८ गोगनेकी १८ वर्षीया सम्झना बस्नेतले नागरिकता बनाएसँगै मतदाता नामावाली पनि बनाउनु भयो । अबको निर्वाचनमा भोट लगाउन पाउनेमा उहाँ ढुक्क हुनुहुन्छ । अघिल्लो निर्वाचनमा अरूले मतदान गरेको देख्दा मलाई पनि आफूले चाहेको व्यक्तिलाई मतदान गर्ने रहर थियो, अब भने पुरा हुने भएको बस्नेतले भन्नुभयो । विभिन्न संस्थाहरूले निर्वाचनको बेला अनुगमन गरेको देखेको भए पनि यस विषयमा भने धेरै जानकारी नभएको बस्नेतको भनाइ छ ।

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार ०७९ वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १६ हजार २ सय ९१ जना मतदाता थपिएका छन् । ०७४ को स्थानीय तहको निर्वाचनमा ६० हजार ७ सय ९ जना मतदाता रहेको जिल्लामा निर्वाचन आयोगले ०७८ मङ्सिर १७ गतेदेखि १९ गतेसम्म गाँउपालिका र नगरपालिकामा सङ्कलन गरेको नामावलीका आधारमा मतदाता सङ्ख्या ७७ हजार  पुगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दीपक भण्डारीले बताउनु भयो । सूचना अधिकारीका अनुसार आठराई गाउँपालिकामा सबै भन्दा धेरै ३ हजार ९ सय ६० जना मतदाता थपिएका छन् । मेन्छायायेम गाउँपालिकामा १ हजार ५ सय ३१ जना मतदाता थपिएका छन् । म्याङलुङ , लालीगुराँस नगरपालिका र  छथर गाउँपालिकामा पुरूष भन्दा महिला मतदाताको सङ्ख्या बढी भएको निर्वाचन कार्यालयले जनाएको छ । म्याङलुङ नगरपालिकामा ७ हजार ५४ जना पुरूष मतदाता हुँदा महिला मतदाताको सङ्ख्या ७ हजार २ सय ४० जना रहेको छ । लालीगुराँस नगरपालिकामा ६ हजार ७ सय १२ पुरूष मतदाता र ६ हजार ८ सय ६० रहेका छन् ।  छथर गाउँपालिकामा ६ हजार ७ सय ११ पुरूष मतदाता र ६ हजार ८ सय ३३  जना महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा २७ हजार ८ सय ६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । एक नगरपालिका र सात ओटा गाउँपालिका गरी आठ स्थानीय तह रहेको जिल्लामा ०७४ को स्थानीय तहको चुनावमा ४६ हजार ६ सय ९४ जना महिला मतदाता र ४४ हजार ८ सय १३ जना पुरूष मतदाता गरी ९१ हजार ५ सय ७ जना मतदाता थिए । आगामी वैशाख ३० गतेका लागि तय भएको निर्वाचनका लागि मतदाता सङ्ख्या बढेर १ लाख १९ हजार ३ सय १३ जना पुगेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत प्रेम न्यौपानेले बताउनु भयो । न्यौपानेका अनुसार सिद्धिचरण नगरपालिकामा सबै भन्दा धेरै ५ हजार ४ सय ३२ जनाले मतदाता नामावलीमा  नाम गर्दा गराएका छन् । सबै भन्दा कम चिशंखुगढी गाउँपालिकामा २ हजार २ सय ८० जनाले मतदाता नामावलीमा नाम गर्दा गराएको अधिकृत न्यौपानेको भनाइ छ । फोटोसहितको नामावलीको काम सरकारले स्थानीय तहको चुनाव घोषणा गरेसँगै रोकिएपछि पूर्ण अद्यावधिक गर्ने काम भने भईरहेको निर्वाचन अधिकृत न्यौपानेको भनाइ छ ।

इलाम प्रतिनिधि बविता मैनालीका अनुसार जिल्लामा ०७४ सालको स्थानीय चुनाव भन्दा आगामी वैशाखमा हुने निर्वाचनका लागि २५ हजार ९ सय ९० मतदाता थपिएका छन् । आउँदो चुनावका लागि मतदाताको प्रारम्भिक सङ्ख्या २ लाख २९ हजार ९ सय ४४ रहेको जिल्ला निर्वाचन कार्यालयका अधिकृत देवीचरण फुयलले बताउनु भयो । १ लाख ११ हजार २ सय ७० जना महिला मतदाता, १ लाख १८ हजार ६ सय ७२ जना पुरूष मतदाता र तेस्रोलिङ्गी दुई जना रहेको जिल्ला निर्वाचन कार्यालयका तथ्याङ्कमा उल्लेख छ । जिल्लामा निर्वाचन आयोगले ०७८ मङ्सिर १७ गतेदेखि माघ २४ गतेसम्म गाँउपालिका र नगरपालिकामा सङ्कलन गरेको नामावलीका आधारमा मतदाता सङ्ख्या ०७४ सालको निर्वाचनमा २ लाख ४ हजार ५४ मतदाता थिए । सबैभन्दा बढी मतदाता सूर्योदय नगरपालिकामा २२ हजार २ सय २२ जना महिलासहित ४५ हजार ९ सय ८७ मतदाता छन् । सबैभन्दा कम माङ्सेबुङ गाउँपालिकामा ६ हजार १ सय ५९ महिलासहित १२ हजार ८ सय ९७ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। इलाम नगरपालिकामा १८ हजार ७ सय १५ जना महिलासहित ३७ हजार ७ सय ७ जना, देउमाई नगरमा १२ हजार ९ सय २७ जना महिलासहित २६ हजार ३ सय ७८ र माई नगरपालिकामा १२ हजार ९७ जना महिलासहित २५ हजार ९४ मतदाता छन् । चुलाचुलीमा ९ हजार ४ सय ४ महिला र दुई जना तेस्रो लिङ्गीसहित १८ हजार ८ सय १३ मतदाता छन् । माईजोगमाईमा ७ हजार ९ सय ४८ जना महिलासहित १७ हजार १ सय २६ जना, फाकफोकथुम गाउँपालिकामा ८ हजार १ सय ९१ जना महिलासहित १६ हजार ९ सय ६७ जना, रोङ गाउँपालिकामा ७ हजार २ सय ८२ जना महिलासहित १५ हजार ३ सय ४८ जना र सन्दकपुर गाउँपालिकामा ६ हजार ४ सय १७ जना महिलासहित १३ हजार ६ सय ४४ जना मतदाता रहेको निर्वाचन कार्यालयको प्रारम्भिक विवरणमा उल्लेख छ ।

सोलुखुम्बु प्रतिनिधि भोजराज कार्कीका अनुसार जिल्लामा १८ हजार ९ सय ६६ जना मतदाता थपिएका छन् । ०७४ सालको निर्वाचनमा ३० हजार ७ सय ७२ जना महिला र ३० हजार ८ सय ७४ जना पुरूष मतदाता गरी ६१ हजार ७ सय ४६ जना मतदाता थिए । हाल जिल्लामा ८० हजार ७ सय १२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर मनोज पोखरेलले बताउनु भयो । ०७९ वैशाख ३० गते हुने निर्वाचनमा मत हाल्न योग्य मतदाताहरूमा सोलुदुधकुण्ड नगरपालिकामा  १९ हजार, सोताङ गाउँपालिकामा ६ हजार ८ सय, लिखुपिके गाउँपालिकामा ५ हजार, महाकुलुङ गाउँपालिकामा ७ हजार ५ सय, नेचासल्यान गाउँपालिकामा ११ हजार १ सय, थुलुङ दुधकोशी गाउँपालिकामा १५ हजार २ सय, माप्यदुधकोशी गाउँपालिकामा १० हजार ५ सय र खुम्बु पासाङल्हामु गाउँपालिकामा ५ हजार ७ सय १० जना रहेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर मनोज पोखरेलले बताउनु भएको छ ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लामा ७१ हजार मतदाता थप भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि ०७८ माघ २४ गतेसम्म सात महिनाको अवधिमा एक जना तेस्रो लिङ्गी, १८ हजार ८ सय १ जना महिला र २० हजार ४ सय २३ जना पुरूष गरी ३९ हजार २ सय २५ मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अजय मिश्रले बताउनु भयो । स्थानीय तहको निर्वाचन ०७४ सालमा २ लाख ३६ हजार ९ सय ९५ जना महिला र र २ लाख ३७ हजार ८ सय ३६ जना पुरूष गरी ४ लाख ७४ हजार ८ सय ३१ जना मतदाता रहेका थिए । आगामी वैशाख ३० गतेका लागि तय गरिएको निर्वाचनामा ५ लाख ४६ हजार ७ सय ८७ जनाले मतदान गर्न सक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ०७४ सालको स्थानीय तह निर्वाचन भन्दा ७१ हजार ९ सय ५६ जना बढी नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

अन्य

भिडियो