सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभामा पेश गरेपछि फागुन ८ गते दिनभरजसो नयाँ बानेश्वर र बिजुलीबजार क्षेत्रमा आन्दोलनकारी र सुरक्षाकर्मीबिच झडप भएको छ ।
आन्दोलनका क्रममा पटकपटक प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा २७ जना आन्दोलनकारी, १७ जना प्रहरी र सात जना सशस्त्र प्रहरी घाइते भएका महानगरीय प्रहरी परिसर टेकुका एसपी दिनेशराज मैनालीले जानकारी दिनु भयो ।
भीडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले पानीको फोहोराका साथै १ सय १५ सेल अश्रुग्यास र ३० राउण्ड रबरको गोली प्रहार गरेको एसपी मैनालीले इन्सेक जिल्ला प्रतिनिधिलाई बताउनु भयो ।
आन्दोलनकै क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा र इँटाले २५ ओटा ढाल फुटेको पनि उहाँले बताउनु भयो ।
प्रदर्शनकारीतर्फ घाइते भएका २२ जनाको उपचार नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालमा गरिएको छ ।
अन्य घर फर्किएपनि पाँच जना गम्भीर घाइतेको उपचार सोही अस्पतालको वार्डमा चिकित्सकको निगरानीमा जारी रहेको छ ।
त्यस्तै प्रहरीतर्फ घाइते भएका १५ जनाको उपचार नेपाल प्रहरी अस्पताल पानीपोखरीमा भइरहेको छ । सशस्त्र प्रहरीतर्फ घाइते भएका तीन जनाको उपचार बलम्बुस्थित एपीएफ अस्पतालमा भइरहेको छ भने बाँकी चार जनाको उपचार संसद भवनभित्रै रहेको आपतकालीन उपचार कक्षमा गरिएको प्रहरीले जनायो ।








