सुर्खेत कारागारबाट भागेका पत्नी हत्याका आरोपित २० वर्षपछि माघ २४ गते प्रहरीले गिरफ्तार गरेको छ ।
२१ वर्षीय पत्नी रामसरा सिंहलाई २०५८ साउन २८ गते कालिकोट महावै गाउँपालिका–३ घरभई हाल वीरेन्द्रनगर नपा–१० बुँदबुँदेमा बस्ने ४५ वर्षीय धनराज सिंहले हत्या गरेको ठहर गर्दै अदालतले २०६५ सालमा कैद फैसला सुनाएको थियो ।
धनराजलाई प्रहरीले बुँदबुँदेबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका इन्स्पेक्टर कनक बहादुर शाहीले जानकारी दिनु भयो ।
सुर्खेत जिल्ला अदालतबाट ०५८ भदौ १४ गते पुर्पक्षका लागि कारागार पठाइएका सिंह ०५८ माघ २ गते सुर्खेत कारागारबाट सुरुङ खनेर भागेको इन्स्पेक्टर शाहीले बताउनु भयो ।
२०६५ मङ्सिर १३ गतेको फैसलाले २० वर्ष कैद सजाय तोकिएका सिंहलाई कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय, सुर्खेतको संयुक्त टोलीले माघ २४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका इन्स्पेक्टर शाहीले जानकारी दिनु भयो । गिरफ्तार भएका सिंहलाई कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।