राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ १२ गते मधेश प्रदेश जनकपुरधाममा सम्पन्न निर्वाचनको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले पर्यवेक्षण गरेको छ ।
जनमत पार्टीको विरोध र अवरोधका बिच कडा सुरक्षा र कोभिड भाइरसको तेश्रो लहरलाई मध्यनजर गर्दै सुरक्षित तवरले राष्ट्रिय सभा सदस्य निर्वाचन सम्पन्न भएको छ ।
मधेश प्रदेशमा ३ सय ७२ जना कुल मतदाता रहेकोमा ३ सय ६६ जनाले मतदान गरेको र पाँच जना अनुपस्थित भएको निर्वाचन अधिकृत पुष्पा झाले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय अगाडि महेन्द्रनारायण स्मृति भवनमा बिहान साढे १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको निर्वाचन अधिकृत झाले बताउनु भयो ।
मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदाता रहेकोमा १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेका हुन् । प्रदेश सभाका १ सय २ सदस्यले मतदान गरेका हुन् ।