त्रिवेणी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत चिरन्जीवी शाह र स्थानीय जनप्रतिनिधिहरुलाई अभद्र व्यवहार गरी धम्की दिएको आरोपमा प्रहरीले त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता प्रेमबहादुर थापालाई माघ १२ गते गिरफ्तार गरेको छ ।
त्रिवेणी नरपालिका–९ का वडाध्यक्ष विरबहादुर विष्ट र थापाले नगरकार्यपालिकाले गरेको निर्णयको बैठक पुस्तीका च्यात्नुका साथै कर्मचारी र जनप्रतिनिधिहरुलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि थापालाई गिरफ्तार गरी अनुसन्धान भइरहेको र फरार वडाध्यक्ष विष्टको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर देबेन्द्रराज जोशीले इन्सेक प्रतिनिधिसँग फोन सम्पर्कमा बताउनु भयो ।
वडाध्यक्ष थापा, विष्ट सहित ६ जना वडाध्यक्ष र तीन जना कार्यपालिका सदस्यका विरुद्धमा निमित्त प्रशासकीय अधिकृत शाहले दिएको उजुरीमा धम्की समेत दिएको उल्लेख गरिएको इन्स्पेक्टर जोशीको भनाइ छ ।
त्रिबेणी नगरपालिका–७ का वडाध्यक्ष प्रेम थापाले वडा नम्बर १ का अध्यक्ष मनराज बुढा, वडा नम्बर २ का अध्यक्ष प्रभुराज जोशी, वडा नम्बर ५ अध्यक्ष गम्भिर बुढा, वडा नम्बर ६ का अध्यक्ष खडकबहादुर बुढा, वडा नम्बर ९ का अध्यक्ष बिरबहादुर बिष्ट, कार्यपालिका सदस्य राजेन्द्र सुनार, बेलुदेबी साउद र सीतादेबी अयडीलाई कार्यपालिकाको बैठक माघ ११ गते बिहान ८ बजेका लागि सूचना दिएको भएपनि नगर प्रमुख रामसिंह रावललगायतले १० गते राति नै बैठक बसेर एकलौटी निर्णय गरेको आरोप लगाउनु भयो ।
आफूलगायत अन्य ६ जना वडाध्यक्ष माघ ११ गते बिहान ८ बजे बैठकमा सहभागि हुन नगरपालिकाको कार्यालयमा उपस्थित हुँदा बैठक सकिएको बताएपछि ६ जना वडाध्यक्षहरुले नगरपालिकाको कार्यालयमा तालबन्दी गरेर सयुक्त विज्ञप्ति जारी गरेको भएपनि सोही दिन वडा नम्बर ८ का अध्यक्ष भिमबहादुर थापाले ताला खोलेको वडाध्यक्ष पे्रम थापाले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।
नगरकार्य पालिकाको बैठक माघ ११ गते बिहान ८ बजे राखिएको भएपनि केही वडाअध्यक्षहरु समयमै उपस्थित नभएका कारण निर्धारित समयमै बैठक बसेर निर्णय गरिएको त्रिवेणी नगरपालिकाका प्रमुख रामसिंह रावलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी चतुर्भूज ओझाले उजुरीका आधारमा वडाध्यक्ष थापालाई गिरफ्तार गरिएको भएपनि घटनाका सम्बन्धमा दुबै पक्षले एकअर्कामा आरोपप्रत्यारोप लगाउँदै आउनु भएकोले घटनाको थप अध्ययन अनुसन्धान भइरहको बताउनु भयो ।
त्रिबेणी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत शाहसँग सम्पर्क गरी घटनाका बारेमा थप जानकारी लिन प्रयास गरिएको भएपनि उहाँले फोन नउठाउनु भएको इन्सेक प्रतिनिघिले बताउनु भयो ।