INSEC Online

📅 २०८३ जेष्ठ २१

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १२ गते)

माघ १२ गते ५ हजार ५ सय ७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ३३ हजार ४ सय ५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ १२ गते परीक्षण गरिएकामध्ये ४१ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १३ हजार ५ सय ४९ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ३१ हजार ७ सय १२ जना निको भएका छन् । माघ १२ गते ४ हजार ४ सय ३३ जना निको भएका छन् भने निको हुनेको दर ८९.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ १२ गतेसम्म ११ हजार ६ सय ७२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ १२ गते पाँच जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ६७ रहेको छ ।

मन्त्रालयका अनुसार माघ १२ गते ६ हजार ८ सय १० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ हजार ८ सय ८३ जनालाई कोभिड पुष्टि भएको छ । माघ १२ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख २० हजार ६ सय ३७ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ १२ गतेसम्म १ करोड ३२ लाख ४३ हजार ५ सय ७७ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-10-12 Nepali

 

झापा प्रतिनिधि नरेश खातीका अनुसार वुद्धशान्ति गाउँपालिकामा रहेको वुद्धशान्ति अस्पतालमा कार्यरत केही स्वास्थ्यकर्मी र कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले माघ १२ गतेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि अस्पतालबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरेको छ । गाउँपालिकास्तरीय कोभिड सङ्कट व्यवस्थापन समितिको  सिफारिस अनुसार अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताउनु भएको छ । नियमित औषधि सेवन गर्नुपर्ने बिरामीका लागि  बिहान १० बजेदेखि १२ बजेसम्म, इमर्जेन्सी सेवा बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने गाउँपालिकाद्धारा जारी सूचनामा उल्लेख छ  । ओपीडी सेवा, ल्याव सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जारी सूचनामा उल्लेख छ ।

पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार फाल्गुनन्द गाउँपालिकामा कार्यरत कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले माघ १२ गते सूचना जारी गर्दै माघ १५ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द गरिएको जानकारी गराएको छ ।

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार म्याग्दे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि म्याग्दे गाउँपालिकाको सेवा थप दुई दिनको लागि बन्द गरिएको छ । गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले माघ १२ गते सूचना प्रकाशन गरी माघ १३ गते देखि १५ गतेसम्म गाउँपालिकाले प्रदान गर्ने अत्यावश्यक बाहेकका अन्य सबै सेवाहरू बन्द गरिने जानकारी दिनुभएको छ । यसअघि माघ १२ देखि १४ गतेसम्म गाउँपालिकाको सेवा बन्द गरिएको थियो । यो बिचमा पनि सङ्क्रमणको दर कम नभएको हुँदा थप दुई दिन बन्द गरिएको अध्यक्ष रानाले बताउनुभयो ।

कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार पोखरा महानगरपालिकाका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि महानगरपालिकाले माघ १२ गते विज्ञप्ती जारी गर्दै महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यक बाहेक नियमित सेवाहरू माघ १६ गतेसम्म बन्द गरिएको जानकारी दिएको छ ।

पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार जलजला गाउँपालिका कार्यलयमा कार्यरत सात जना कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि माघ १२ देखि माघ १७ गतेसम्मका लागि कार्यालयले प्रदान गर्ने सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार जिल्ला मालपोत कार्यालय खलङ्गाको आन्तरिक प्रशासनिक कामकाज बाहेक अन्य सेवा माघ १३ गतेदेखि १८ गतेसम्म स्थगित गरिएको छ । जिल्ला मालपोत कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीहरूमा पनि मिल्दोजुल्दो लक्षणसहित बिरामी परेकोले कन्ट्याक्ट ट्रेसिङ्मा रहेको जानकारी गराउँदै माघ १२ गते सूचना प्रकाशन गरी सेवा स्थगित गरिएको जिल्ला मालपोत कार्यालयका प्रमुख भोजबहादुर भण्डारीले बताउनु भयो ।

अन्य

भिडियो