छेडागाड नगरपालिका–६ का अध्यक्ष ५३ वर्षीय रामबहादुर केसीलाई विप्लब नेतृत्वको नेकपा माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले माघ ५ गते मोसो तथा जुत्ताको माला लगाएर दुर्व्यवहार गरेका छन् ।
विद्यार्थी र जनताको भविष्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई नभएकोले गलत कार्य विरूद्धको खबरदारी मात्र गरिएको अखिल क्रान्तिकारी जाजरकोटका संयोजक दीपेन्द्र सिंहले बताउनुभयो ।
यस्तै अखिल क्रान्तिकारी जाजरकोटले ५ गते एक विज्ञप्ति जारी गर्दै वडाध्यक्ष केसीले जनविकास माद्यामिक विद्यालयको फिल्ड निर्माणमा ९ लाख हिनामिना गरेको, अफ्गानपुल्ला सडक निर्माणमा ७० लाख बजेटबाट १७ लाख घुस खाएको, राधेदेखि विराखोला सडक स्तरोन्नतिमा ५ लाख रूपियाँ हिनामिना गरेको, कोभिड–१९ नियन्त्रणका लागि उपलब्ध भएको ७८ हजार रूपियाँ वडा सचिवको किर्ते हस्ताक्षर गरी चेक साटेर हिनामिना गरेको आरोप लगाएको छ ।
यसैगरी उक्त सङ्गठनले बाहुनगाउँ देखि अफ्गानखाने पानी योजनाबाट २५ लाख रूपियाँ हिनामिना गरेको, स्वास्थ्य चौकीको सोलार खरिदमा सबै काम सम्पन्न भएपनि कमिसन मागेर पैसा निकासा गर्न नदिएको, थाली खोला मुहान र जेवाखानेपानी योजनाबाट ७ लाख रूपियाँ हिनामिना गरेको, सरकारले विकास योजनाका लागि दिएको बजेटलाई प्रभावकारी कार्यान्वयन नगराई आफ्नो जीवनमात्र समृद्ध बनाएको आरोप लगाएको छ ।
नेकपा एमाले जाजरकोटले (विप्लव) निकट विद्यार्थी सङ्गठनले वडाध्यक्ष केसीमाथि गरिएको अभद्र व्यवहारको निन्दा गर्दै संविधान र कानुन भन्दा आफूलाई माथि ठानेर सार्वजनिक रूपमा त्यसखालको दुर्व्यवहार गरेर वडाध्यक्षको व्यक्तिगत र राजनैतिक छविमा आँच पुर्याएको ठहर गरेको छ ।
विज्ञप्ति जारी गरेर वडाध्यक्षमाथि गरिएको यस खाले उग्रवामपन्थी रवैया र कदमको घोर विरोध गर्दै उक्तकार्यमा संलग्नलाई कानुनी दायरामा ल्याई कडा कार्वाहीको लागि स्थानीय प्रशासनसँग अपिल गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधुकुमार थापाले घटनाको विषयमा प्रहरीमा कुनै जानकारी नआएको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘पीडित पक्षबाट कुनै खालको जानकारी आएमा प्रक्रिया अघि बढाई आरोपितहरूको खोजी गरेर कारबाही गर्छौँ ।’