INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या कसुरमा जन्मकैद सजायको फैसला

आठराई गाउँपालिका–४ तीनसल्लेकी २८ वर्षीया बिन्दा पुरीको हत्याको मुख्य योजना बनाएको कसुरमा अदालतले ४० वर्षीय पति काजीमान पुरीलाई जन्मकैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको माघ ५ गतेको इजलासले पत्नी हत्याका लागि मुख्य योजनाकार पति‚ हत्या सहयोगी २४ वर्षीय देवर बालकृष्ण पुरी र ३१ वर्षीय देवर सुरेन्द्र पुरीलाई अदालतको सोही आदेशले जन्म कैद सजायको फैसला गरेको अदालतका श्रेस्तेदार पारसमणि पोखरेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

कैद सजायसँगै जनही ९० हजार रुपियाँ जरिबानाको फैसला भएको श्रेस्तेदार पोखरेलले बताउनु भयो ।

कसुरदार आफू संयुक्त अरब इमिरेटस्‌(युएई) मा रोजगारीमा रहेको अवस्थामा भाई बालकृष्ण पुरी र सुरेन्द्र पुरीलाई प्रयोग गरी पत्नीको ०७६ फागुन २९ गते हत्या गराएको अदालतको ठहर छ ।

आठराई गाउँपालिका–४ स्थित घरको भान्सा कोठामा देवरहरूले खुकुरी प्रहार गरी हत्या गरेको अवस्थामा ०७६ फागुन २९ गते बिन्दाको शव फेला परेको थियो ।

प्रहरीले घटनालगत्तै देवरहरूलाई ०७६ चैत १ गते गिरफ्तार गरी अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा दाजुको योजना अनुसार भाउजुको हत्या गरेको बयान दिएपछि प्रहरीले बालकृष्ण र सुरेन्द्रविरूद्ध जिल्ला अदालतमा ०७६ चैत २६ गते कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको ०७७ कात्तिक १९ गतेको आदेशमा बालकृष्ण र सुरेन्द्र पुर्पक्षका लागि थुनामा गएका थिए ।

नेपाल प्रहरीले इन्टरपोल प्रहरीमाफर्त रेड नोटिस जारी गरेर ०७८ वैशाख २ गते घटनाका योजनाकार काजीमानलाई गिरफ्तार गरेको थियो । प्रहरीले काजीमानविरूद्ध जिल्ला अदालतमा ०७८ वैशाख २८ गते कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको ०७८ भदौ २८ गतेको आदेशमा काजीमान पुर्पक्षका लागि थुनामा गएका थिए ।

शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (घोपा) मा ०७६ फागुन ३० गते गरिएको थियो ।

पीडित पक्षले फागुन ३० गते शव बुझी आठराई गाउँपालिका–४ स्थित युवा डाँडामा ०७७ चैत १ गते सद्गत गरेको थियो ।

अन्य

भिडियो