१५ वर्षीया बालिका बलात्कार गरेको कसुरमा डुङ्गेश्वर गाउँपालिका–१ बेलपाटाका २६ वर्षीय सुरेश विकलाई दैलेख जिल्ला अदालतले पुस २८ गते १२ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट उक्त फैसला भएको अदालतका श्रेस्तार इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
विकले ०७६ फागुन २५ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितलाई त्यही दिन गिरफ्तार गर्नुसँगै बालिकाको स्वास्थ्य परीक्षण फागुन २६ गते नै दैलेख जिल्ला अस्पतालमा भएको थियो ।
उजुरीका सम्बन्धमा प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकील कार्यालयले ०७६ चैत २८ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी सम्वन्धी अभियोग दर्ता गराएको थियो ।
अभियोग सम्बन्धमा चैत २८ गते नै भएको थुनछेक बहसपछि आरोपितलाई पुर्पक्षका लागि दैलेख कारागारमा थुना राखिएको थियो ।
पीडित पक्ष होष्टाइल भएको कारण बलात्कार पुष्टि भए पनि क्षतिपूर्ति तर्फ फैसलामा केही उल्लेख नभएको उहाँले बताउनुभयो ।