आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कमल गाउँपालिका–३ का ६९ वर्षीय मोतीलाल हस्दालाई जन्म कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश शङ्करबहादुर राईको पुस १८ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट १ लाख रुपियाँ क्षतिपूर्ति र पीडित राहत कोषमा २ हजार ८ सय रुपियाँ जम्मा गर्न आदेश भएको अदालतका श्रस्तेदार वीरेन्द्रकुमार बस्नेतले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७६ चैत ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत १६ गते इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो । जिल्ला अदालतको ०७७ वैशाख ५ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा ०७६ चैत १६ गते गरिएको थियो ।