INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा निर्वाचन अधिकृतको कार्यालय पुस १५ गते जनकपुरधाममा स्थापना गरिएको छ ।
निर्वाचन आयोगले धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेललाई निर्वाचन अधिकृतको रूपमा नियुक्त गरी कार्यालय स्थापना गरिएको हो ।
राष्ट्रिय सभा निर्वाचनका लागि पुस १७ गते मतदाता नामावली प्रकाशन र सोही दिन दावी विरोध उजुरी, सच्याउनु पर्ने सोही दिन, पुस १८ गते उजुरी माथि छानबिन एवम् कारवाही, पुस १९ गते अन्तिम नामावली प्रकाशन, पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका प्रमुख पुष्पा झाले जानकारी दिनु भयो ।
निर्वाचनका लागि पुस २१ गते उम्मेदवारमाथि विरोध वा उजुरी दर्ता, पुस २२ र २३ गते उजुरीमाथि जाँचबुझ, पुस २३ गते नै उम्मेदवारको नामावली प्रकाशन, पुस २४ गते उम्मेदवारी फिर्ता, पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चिन्ह प्रदान तथा माघ १२ गते मतदान कार्यक्रम रहेको छ ।
प्रदेश २ मा राष्ट्रिय सभा सदस्यका लागि १ सय ४ जना प्रदेश सभाका सदस्य, २ सय ६८ स्थानीय तहका प्रमुख एवम् उपप्रमुख गरेर ३ सय ७२ जना मतदाता रहेका छन् ।
१ जना प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ रहेको छ ।
प्रदेश सभा सदस्यहरूको कूल मतभार ४ हजार ९ सय ९२ र स्थानीय तहका प्रमुख एवम् उपप्रमुखको मतभार ४ हजार ८ सय २४ गरेर ९ हजार ८ सय १६ मतभार रहेको प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका प्रमुख पुष्पा झाले जानकारी दिनु भयो ।
जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान तथा मतगणना सहितको कार्यक्रम हुने निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताउनु भयो ।

अन्य

भिडियो