३३ वर्षीया एक महिलालाई काठमाडौँको नयाँ बसपार्क क्षेत्रका विभिन्न होटलमा लगि सामूहिक बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पुस १३ गते काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्क क्षेत्रबाट आठ जनालाई गिरफ्तार गरेको छ भने एक जना फरार रहेका छन् ।
बलात्कारको आरोपमा प्रहरीले गिरफ्तार गरेकाहरूमा मुगुको छायाँनाथ रारा गाउँपालिका घर भई काठमाडौँ बस्ने ४५ वर्षीय युवराज बडुवाल, २२ वर्षी हिक्मत नेपाली, २४ वर्षीय रतन नेपाली, २० वर्षीय सुरेश सेजुवाल, २० वर्षीय दीपक नेपाली, २६ वर्षीय शिवहरी बुढा, २१ वर्षीय हस्त नेपाली र अर्घाखाँची घर भएका २३ वर्षीय गोपाल कुमार श्रीस रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
पीडित महिलालाई आरोपितमध्ये युवराज बडुवाल र हिक्मत नेपालीले पुस १२ गते र अन्य सात जना अरोपितले पुस १३ गते स्थानीय होटलमा लगेर सामूहिक बलात्कार गरेका थिए ।
सुर्खेतबाट रोजगारीको खोजिमा काठमाडौँमा आएकी पीडित महिलालाई ललाईफकाई विभिन्न होटलमा लगि बलात्कार गरेको भन्दै पीडितका आफन्तले पुस १३ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए ।
सामूहिक बलात्कारको घटनामा संलग्न आरोपित मध्ये मुगु जिल्ला घर भएका २४ वर्षीय चन्द्र साउद फरार रहेको र खोजीकार्य जारी रहेको एसपी मैनालीले बताउनुभयो ।
प्रहरीले गिरफ्तार गरेका आठै जनालाई जिल्ला अदालत काठमाडौँबाट पुस १४ गते पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण थापाथलीस्थित प्रसुति गृहमा पुस १३ गते गरिएको छ ।