पार्टीको विधानबाट ‘हिन्दु धर्म र राजसंस्था’ शब्द हटाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले चैत ७ गते काठमाडौँको जमलमा विरोध प्रदर्शन गरिरहेको अवस्थामा प्रहरीसँगको झडपमा प्रहरीले लाठी प्रहार गर्नुका साथै अश्रु ग्याँस प्रहार गर्दा केही नेता तथा कार्यकर्ता घाइते भएको राप्रपाले जनाएको छ ।
निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका राप्रपा नेता तथा कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरी लाठी प्रहार गर्दा वविता शाही, शावित्री थापा, श्रृजना रानी वर्मा बस्नेत, कोमल वली लगायत ३७ जना घाइते भएको जनाइएको छ । झडपमा परी घाइते भएका राप्रपाका नेता कार्यकर्ताको ट्रमा सेन्टर र मोडेल अस्पतालमा उपचार भएको राप्रपाले जनाएको छ ।
त्यसैगरी झडपका क्रममा राप्रपाका पूर्व अध्यक्ष पशुपति शमशेर राणा समान्य घाइते भएका छन् । उनको गोडामा समान्य चोट लागेको जनाइएको छ ।