नेपालको संविधानको धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकको व्यवस्था गरेको भएपनि परशुराम नगरपालिकास्थित केही विद्यालयहरुमा जातीय आधारमा विभेद कायमै रहेको छ ।
विद्यालयमा समेत जातीय विभेद हटन नसकेपछि दतिल समुदायका बालकालिकाहरुलाई विद्यालय जान र अध्यान गर्न सहज वातावरण नभएको शिक्षक तथा अभिभावहरुको गुनासो रहेको छ ।
सरकारले पूर्व प्राथमिकदेखि प्राथमिक तहका विद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरेको भएपनि खाजा खाने समयमा अनेकौ बाहाना बनाएर गैरदलित विद्यार्थीहरु दलित विद्यार्थीहरुसँग बसेर खाजा खान नमान्ने गरेको शिवशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवराज अवस्थीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘दलित विद्यार्थीहरुलाई विभेद भएको अनुभूति नहोस भन्नका लागि दतिल विद्यार्थीसँगै बसेर शिक्षकहरुले खाजा खाने गरेका छौँ । तर, गैरदलित विद्यार्थीहरु उनीहरुसँगै बसेर खाजा खान मान्दैनन् । यसले विद्यालयमा दतिल बालबालिकाहरुलाई हिनताबोध हुने गरेको छ ।’
विद्यालयमा गैरदलित विद्यार्थीहरुले दलित विद्यार्थीहरुलाई होच्याएर व्यवहार गर्ने गरेका कारण दलित केही दलित बालिकाहरुले विद्यालय जान समेत छोडेको कक्षा ८ मा अध्ययनरत छात्र रुपेश टमटाले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो–‘खाजा खाने बेला मात्रै नभएर अन्य समयमा पनि गैरदलित विद्यार्थीहरु दलित विद्यार्थीसँग बस्न तथा खेल्न मान्दैनन् ।’
खाजा खान मात्र नभई दलित विद्यार्थीहरुसँगै बसेर पानी समेत पिउन नमान्ने गरेको सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा नारु कोलीले दुखोसो पोख्नु भयो । खाजा खाने समयमा दलित विद्यार्थीहरुले अलग्गै बसेर खाजा तथा पानी खाने गरेको कोलीको भनाइ छ ।
गैरदलित विद्यार्थीहरूले दलित विद्यार्थीहरूसँग खाजा खान नमान्ने गरेका कारण दैनिक रूपमा विद्यालयमा दलित विद्यार्थीको उपस्थिति घट्दो रहेको सिद्धनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक गौरीदत्त भट्टराईले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘दलित विद्यार्थीहरुलाई सहज होस् भनेर गैर दलित विद्यार्थीहरुलाई पनि सँगसँगै राखेर खाजा खाने वातावरण बनाएको भएपनि विद्यार्थीहले अनेकौ बाहाना बनाउने गरेका छन । यसले शैक्षिक वातावरणमा समस्या ल्याएको छ ।’