बेनीघाट रोराङ गाउँपालिकाले जाडोबाट कष्ट भोगिरहेका १ हजार ५ सय भन्दा बढी विद्यार्थीलाई कपडा वितरण सुरु गरेको छ ।
इन्सेक अनलाइनमा ०७८ मङ्सिर २२ गते “आगो तापेर रात कटाउनु पर्ने बाध्यतामा चेपाङ बालबालिका” शिर्षकमा समाचार प्रकाशित भएपछि गाउँपालिकाले ट्रयाकसुट, जुत्ता र मोजा वितरण सुरु गरेको हो ।
समाचारमा जाडो मौसम सुरु भए पनि विद्यालयमा विद्यार्थी च्यातिएको पोसाकमा विद्यालय पुग्ने र चिसोले काम्दै गरेका अवस्थामा र घरमा पनि आगो बालेर रात कटाउनु पर्ने बाध्यता रहेको उल्लेख भएको थियो ।
प्रजा आधारभुत विद्यालय सिमथलीमा गाउँपालिका अध्यक्ष समेत आफैँ उपस्थित भएर मङ्सिर २७ गते सबै विद्यार्थीलाई ट्रयाकसुट, जुत्ता र मोजा वितरण गर्नु भएके छ । यस विद्यालयमा १ सय २० बालबालिका छन् ।
चेपाङ समूदायको बसोबास क्षेत्र सिमथली र आसपास क्षेत्रका नागरिकहरूको आर्थिक अवस्था कमजेर कसैको घरमा वर्षभरि खानपुग्ने अन्न समेत छैन भने आय आर्जनको स्रोत पनि छैन ।
ज्यालादारीको भरमा छाक टार्नु पर्ने बाध्यतामा रहेका नागरिकलाई सो सुविधा पनि केहिलेकाही मात्र मिल्छ ।
गाउँपालिकाले अध्यक्षसँग बालबालिकाको न्यानो माया कार्यक्रम अन्तरगत २० लाखको बजेटमा १ हजार ५ सय ३ बालबालिकालाई ट्रयाकसुट, जुत्ता र मोजा वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराइले बताउनुभयो ।
गाउँपालिकाको आफ्नै कार्यक्रममा बजेट रहेको भए पनि इन्सेक अनलाइनमा समाचार प्रकाशन भएपछि मात्रै यस कार्यक्रममा ध्यान पुगेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताउनु भये ।
सिमान्तकृत चेपाङ लगायतका गरिब दलित बालबालिका अध्यायन गर्ने विद्यालयहरूमा सामाजिक विकास शाखाको निर्णय बमोजिम इसिडिदेखि कक्षा ५ सम्मका बालबालिकाहरूलाई जाडोबाट बचाउन कपडा वितरण गरिएको शिक्षा शाखाका बोधराज पाठकले बताउनुभयो ।
गाउँपालिकामा रहेका ६९ विद्यालयमध्ये अहिले २६ विद्यालयलाई वितरण गरिएको जनाइएको छ । ओर्वाङ आधारभुत विद्यालयमा भने अझै न्यानो कपडा वितरण गर्न नसकेको पाठकले बताउनु भयो ।