INSEC Online

📅 २०८३ जेष्ठ २१

आगो तापेर रात कटाउनु पर्ने बाध्यतामा चेपाङ बालबालिका

बेनिघाट रोराङ गाउँपालिकाका चेपाङ समुदायका बालबालिका अझै पनि आगो बालेर रात कटाउन बाध्य छन् । बेनिघाट रोराङ गाउँपालिका-२ सिमथलीका कालीबाहादुर चेपाङका नौ जना बालबच्चा छन् ।

ज्यालामजदुरी गरेर परिवार धानेका कालीबाहादुर परिवारक ६ जना बालबच्चा विद्यालय जान्छन् । बाँकी भने मेलापात गरेर बसेका छन् । खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने उनको परिवारको नियति रहेको छ ।

Photodhading120211208

भएको थोरै खोरियामा फलेको अन्नले दुई महिनालाई पनि नपुग्ने भएकोले खानका लागि नियमित ज्याला गरेर बल्ल बल्ल परिवार पालिएको छ । तर ‌ओड्ने ओछ्याउने नहुँदा दाउरा बालेर रात काट्ने गरेको कालीबहादुर बताउनु हुन्छ ।

कालीबहादुरको परिवार मात्र होइन सिमथलीका चेपाङ समुदायको दुख उस्तै छ । घरमा खानेकुरा छैन । जाडो मौसममा अगेनाको आगोको भरमा रात काट्नु पर्छ भने विद्यालय जानेहरूले दिउँसोको विद्यालयले उपलब्ध गराउने खाजाको भरमा बस्नु पर्ने हुन्छ ।

घरमा भएकाहरूले ज्याला गरेको दिनमा मात्र खाना पाउने अवस्था रहेकोले बालबालिकाको अवस्था दयनीय रहेको प्रजा आधारभुत विद्यालयका प्रधानाध्यापक अप्सरा मैनालीले बताउनुभयो ।

16 days campaignNepali

विद्यालय आउने तर घरमा अभिभावक नहुनेहरू झनै समस्यामा रहेका छन् । नियमित विद्यालय आउने ६ वर्षीय डेप चेपाङ र ८ वर्षीय कमल चेपाङको आमाले घर छाडेर हिँडेको लामो समय भयो । बाबु घरमै आउँदैनन् । ज्याला गर्न गएर १०-१५ दिनमा घर फर्किन्छन् ।

मामाघरमा हजुरआमासँग बसेका उनीहरूले दुई छाक राम्रोसँग खान पनि पाउँदैनन् । कहिलेकाहीँ त विद्यालयले उपलब्ध गराउने दिवा खाजाको भरमा दिन कट्छ । लगाउने लुगा छैन । जाडोको सिरेटोले बालबिलका काम्दै गरेको दृश्य विद्यालयमा नरमाइलो किसिमको हुने गरेको शिक्षक मैनालीको भनाइ छ ।

बेनिघाटरोराङ गाउँपालिका–३ ओर्वाङ आधारभुत विद्यालयमा अध्यायनरत आमाबाबु नभएका ८ वर्षीय सुमन चेपाङसँग घरमा ओडेर सुत्ने बाक्लो कपडा छैन । दुई छाक खाना खान दिने अभिभावक समेत छैनन् । तर उनी नियमित विद्यालय जाने गरेका छन् ।

बाबु भिरबाट लडेर र आमा नदीले बगाएर मृत्यु भएका सुमनको पालन पोषण ७७ वर्षीय हजुरआमाले गरिरहनु भएको छ । वृद्ध हजुरआमाको सहारामा विद्यालय खाजाको भरमा पढ्दै गरेका सुमनको पढ्ने इच्छा भने तिब्र छ ।

विद्यालयका अब्बल विद्यार्थी मध्ये पर्ने सुमनको एक कक्षामा पढ्ने भाइ र तीन कक्षामा पढ्ने बहिनी छन् । उनीहरूको दैनिकी पनि त्यसरी नै बित्छ ।

घर पुगेपछि उनीहरूलाई राती कसरी सुत्ने भन्ने चिन्ता हुने गर्दछ । राती अगेनामा दाउरा बालेर तातो बनाएर गुन्द्रीमा सुत्नु पर्ने अवस्था छ । चेपाङ परिवारमात्र होइन ओर्वाङका गरिब बालबालिकाहरूको अवस्था उस्तै छ ।

m

सात वर्षीया सनम मगर टाँक समेत झरिसको च्यातिएको विद्यालय पोशाकमा विद्यालय आएकी थिइन् । चिसो लागेर होला नाकबाट झर्दै गरेको सिँगान माथि तान्दै विद्यायका शिक्षक बिमला सिलवाललाई नबुझेको कुरा सोध्दै हुनुहुन्थ्यो । गर्मी समयमा त खासै वास्ता नहुने भए पनि जाडो समयमा रात काट्न कठिन अवस्था छ ।

९५ जना विद्यार्थी रहेको ओवाङ आधारभुत विद्यालयमा ४४ जना बालिका रहेका छन् । अध्यायन गर्ने सबै विद्यार्थीका अभिभावकले दुई छाक खाना दिने क्षमता राख्दैनन् । बाबु वा आमा गुमाएका विद्यार्थीको सङ्ख्या १० जनाभन्दा बढी रहेको शिक्षिका बिमला सिलवालले जननकारी दिनुभयो ।

बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भुवन त्रिपाठीले भोकै बस्नुपर्ने अवस्थाका नागरिकहरूलाई गाउँपालिकाले सहयोग नगर्दा पनि आफूले चामल दिने गरेको बताउनुभयो ।

चुनाबका बेला आफूले जितेमा आर्थिक अवस्था उकास्ने कार्यक्रम ल्याउने बताएका गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले भोक टार्ने कार्यक्रम समेत ल्याउन सकेका छैनन् ।

स्थानीय तहको सरकारले काम गरेको चार वर्ष वितिसक्दा पनि आय आर्जनका कार्यक्रममा भन्दा वर्षमा एकपटक राहत बाढ्नमा बजेट खर्च गरिरहेका छन् ।

अन्य

भिडियो