१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश हरिश्चन्द्र इङ्नामको मङ्सिर १६ गतेको इजलासले घटनाका दोषी सूर्योदय नगरपालिका‒ ६ का २३ वर्षीय सुमन राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको अदालतका सूचना अधिकारी फणिन्द्रराज भट्टराईले बताउनु भयो ।
सोही आदेशले सूर्योदय नगरपालिका‒६ का २३ वर्षीय लोकबहादुर भुजेललाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको अदालतका सूचना अधिकारीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
अदालतको आदेशले कसुरदार भुजेलबाट पीडितले पाउने गरी ३० हजार रुपियाँ क्षतिपूर्ति र १ हजार रुपियाँ पीडित राहत कोषमा भराउन आदेश भएको सूचना अधिकारी भट्टराईले बताउनु भयो ।
न्यायाधीश इङ्गनामको आदेशले कसुरदार राईलाई पीडितले पाउने गरी ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन र १ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश भएको सूचना अधिकारी भट्टराईले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित बालिकालाई ०७६ मङ्सिर १४ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितद्धयविरूद्ध ०७६ मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितद्धयलाई प्रहरीले ०७७ साउन १८ गते गिरफ्तार गरी सोही दिन जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७६ मङ्सिर २० गते गरिएको थियो ।