पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले मेचीनगर नगरपालिका‒१५ का १५ वर्षीय बालकलाई ६ वर्ष ३ महिना कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश गिरीराज गौतमको मङ्सिर १२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ३५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार मदनप्रसाद पराजुलीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७८ साउन २६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १० गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले भदौ १० गते गिरफ्तार गरी जिल्ला अदालतमा भदौ २८ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतको ०७८ भदौ २९ गते आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा गएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा भदौ १० गते गरिएको थियो ।