INSEC Online

📅 २०८३ जेष्ठ २१

१० दिनदेखि वडा कार्यालयमा तालाबन्दीका कारण सेवाग्राही मर्कामा

राजविराज नगरपालिकाको पर्साहीस्थित राजविराज नगरपालिका–१४ को कार्यालयमा १० दिनदेखि भएको तालाबन्दीका कारण सम्पूर्ण कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

गाउँलेहरूले कात्तिक २६ गते राखेको सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरू उपस्थित नभएको आक्रोशमा स्थानीयले सोही दिन तालाबन्दी गरेका थिए ।

१० दिनदेखि तालाबन्दी हुँदा वडा कार्यालयबाट हुने व्यक्तिगत घटना दर्तालगायतका सबै सेवा पूर्ण रूपले ठप्प भएको छ ।

लामो समयसम्म तालाबन्दी हुँदा समेत खोल्नेतर्फ कसैले चासो नदिएको स्थानीइले आरोप लगाएका छन् ।

स्थानीय सरकारका रूपमा रहेको वडा कार्यालयमा तालाबन्दीका कारण कामकाज नै रोकिनु दुःखद् रहेको स्थानीय बासुदेव मण्डलले बताउनुभयो ।

वडा अध्यक्ष शोभालाल मण्डलले सुरक्षाका कारण देखाएर सार्वजनिक सुनवाइमा नगएको बताउनु भयो । प्रहरी, पत्रकारहरू नबोलाई गाउँलेहरूले आयोजना गरेको सार्वजनिक सुनवाइमा कर्मचारीहरू समेत जान नमानेकाले आफू पनि नगएको उहाँले बताउनुभयो ।

तालाबन्दी गर्नु बेठिक भएको भन्दै वडा अध्यक्ष मण्डलले ताला लगाउनेले नै ताला खोल्नुपर्ने बताउनुभयो ।

वडा अध्यक्ष मण्डलले तालाबन्दीका कारण जनता मर्कामा परेकाले ताला खोल्ने विषयमा जिल्ला प्रशासन कार्यालय सप्तरीसँग सहकार्य भइरहेको बताउनु भयो ।

अन्य

भिडियो