अपरिचित व्यक्तिहरूको समूहले राक्सीराङ गाउँपालिका–४ गिङ्गु खानीमा एउटा स्काभेटरमा आगजनी गरेको छ भने दुई ओटामा तोडफोड भएको छ ।
राक्सिराङ गाउँपालिकास्थित मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिको भवन अगाडि पार्किङमा रहेको ऋद्धिसिद्धि सिमेन्ट उद्योगका तीन ओटा स्काभेटरमध्ये प्रदेश ३–०१–००३ बा ५७३४ नम्बरको स्काभेटरमा साँझ ६ बजे आगजनी हुँदा स्काभेटर जलेर पूर्णरूपमा क्षति भएको वडाध्यक्ष सञ्जय कोइरालाले बताउनुभयो ।
४–५ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूको समूहले सवारीमा आगजनी गरी भागेको स्थानीय प्रत्यक्षदर्शीको भनाइलाई उद्घृत गर्दै उहाँले बताउनुभयो ।
त्यसैगरी पार्किङ गरेको बा २ क ५८९ र बा ३ क ६९७ नम्बरको स्काभेटरमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी जयश्वर रिमालले जानकारी दिनुभएको छ ।
आगजनी र तोडफोड कसले गर्यो भन्नेबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । आगजनीमा सो पार्टीका कार्यकर्ताको संलग्नताको अनुमान गरिएको प्रहरीले जनाएको छ । यद्यपि अनुसन्धानपछि मात्रै सो बारे जानकारी दिन सकिने डिएसपी रिमालले बताउनु भयो ।
घटनास्थलमा इन्स्पेक्टरको टोली पठाएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिको विरोधमा कात्तिक ३० गते नेपाल बन्दको आह्वान गरेको छ ।
भोलिको बन्द सफल पारौँ भन्दै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कात्तिक २९ गते राँके जुलुस पनि प्रदर्शन गरेका छन् ।