३१ वर्षीया महिलालाई जबरजस्ती यौन कार्य गराएको आरोपमा प्रहरीले तनहुँ आँबुखैरेनी गाउँपालिका–२ घर भइ हाल जिल्ला पोखरा मशानगरपालिका–८ जाल्पारोड बस्ने २६ वर्षीय अर्जुन पन्त र गोरखा गण्डकी गाउँपालिका –७ घ्यालचोक घर भइ हाल पोखरा–१४ चाउथे बस्ने २४ वर्षीय बिराज राना मगरलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ ।
पोखरा महानगरपालिका–८ स्थित एक खाजा घरमा यौन कार्य सञ्चालन हुँदै आएको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले कात्तिक १५ गते खाजा घरमा छापा मारेर आरोपितहरूलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
पीडितलाई आरोपितहरूले जागिर दिने प्रलोभनमा पारेको र पछि डर त्रास देखाएर जबरजस्ती यौन कार्य गर्न बाध्य पारेको भन्दै पीडितले आरोपितविरुद्ध कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको उहाँले बताउनुभयो ।
प्रहरीले आरोपितहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा अन्तरगत जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक १६ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको छ ।