राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सुर्य ढुङ्गेलले नागरिक बलियो भयो भने मानव अधिकार कसैले खोस्न नसक्ने बताउनुभएको छ ।
राष्ट्रिय मानव अधिकार अयाोगले ०७८ कात्तिक १० गते मन्थलीमा सुनकोशी–मरिण डाइभर्सन र सुनकोसी–२ जलविद्युत आयोजना प्रभावितको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारमा पर्ने असरको सम्बन्धमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ढुङ्गेलले नागरिक समाज बलियो हुँदा मानव अधिकारको अवस्था पनि बलियो हुने बताउनुभयो ।
उहाँले अब विकास र मानव अधिकारका विषयलाई सँगै लैजानु पर्नेमा जोड दिनुभयो । विकासमा मानव अधिकारका विषयलाई पनि समावेश गर्नुपर्ने उहाँले बताउनुभयो ।
सदस्य ढुङ्गेलले विकास आयोजना सञ्चालन गर्दा स्थानीय समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारमा पार्ने प्रभावको बारेमा पनि सचेत हुनुपर्ने बताउनुभयो ।
बागमती प्रदेशकी सांसद् रीता माझीले सुनकोशी–२ ले सुनकोशी र तामाकोशी किनारका माझी समुदायको बसोबास नै नष्ट गर्ने भएकोले सो आयोजना सञ्चालन गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम खड्काले सुनकोशी–२ जलविद्युत आयोजनाले अहिलेसम्म स्थानीय जनप्रतिनिधिसँग कुनै सहकार्य नगरेको बताउनुभयो ।
मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले सुनकोशी–मरिण डाइभर्सनले थोरै क्षतिमा तराईका अन्न भण्डारलाई सिञ्चित गर्ने भएकोले त्यसको विरोध गर्नुनहुने बताउनुभयो । सुनकोशी–२ भने अति महत्वकांक्षी योजना भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा स्थानीय माझी समुदायका अगुवा तथा राजनीतिक दलका प्रतिनिधिले स्थानीय नागरिकलाई उठिबास लगाउने गरी योजना सञ्चालन गर्न नहुने सुझाव दिनुभयो । पहिला स्थानीयको व्यवस्थापन गरी योजना अघि बढाउन उहाँहरूको आग्रह थियो ।