असोज १ गते १ हजार ८६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ८३ हजार ७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज १ गते परीक्षण गरिएकामध्ये १३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार ६ सय ६५ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ४६ हजार ५ सय ६६ जना निको भएका छन् । असोज १ गते १ हजार ३ सय ५१ जना निको भएका छन् भने निको हुनेको दर ९५.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असोज १ गतेसम्म ११ हजार १२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असोज १ गते १० जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ४ सय ९७ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार असोज १ गते ३ हजार ७ सय २० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ४ सय ७२ जनालाई कोभिड पुष्टि भएको छ । असोज १ गतेसम्म एण्टिजेन परीक्षणबाट ८८ हजार ६ सय ५९ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार असोज १ गतेसम्म ५५ लाख ७ हजार ३ सय ८० जनाले पूर्ण खोप पाइसकेका छन् ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्लामा जारी निषेध आदेशको समय अर्को आदेश नभएसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असोज १ गतेको बैठकको निर्णय बमोजिम निषेध आदेशको समय थप गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी जयराम भण्डारीले बताउनु भयो । निषेध आदेशको समयमा स्वास्थ्य मापदण्ड अपनाएर सबै प्रकारका पसलहरू साँझ ६ बजेसम्म खुल्ला गर्न पाइने छ । जिल्लाभित्र ठूला जमघट तथा बढी भीडभाड, सभा सम्मेलन सांस्कृतिक कार्यक्रम, जुलुस पूर्ण रूपमा बन्द गरिएता पनि शैक्षिक संस्था भने सिफ्टका आधारमा स्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालन गरि चल्न दिने निर्णय गरिएको निमित्त प्रजिअ भण्डारीले बताउनु भएको छ ।