गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मानव अधिकारको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठ नेतृत्वको टोलीसँग मुख्यमन्त्री निवासमा भएको भेटमा उहाँले गण्डकी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना हुन नदिनका लागि सरकारले मानव अधिकारसम्बद्ध संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।
राजनीतिक दलमा क्रियाशील रहँदा र सरकारको नेतृत्वमा रहेपछि भूमिका फरक हुने बताउँदै उहाँले सरकारकाे तर्फबाट मानव अधिकार उल्लङ्घन भयो भने आवाज उठाउन आग्रह गर्नुभयो ।

इन्सेकका अध्यक्ष डा.इन्दिरा श्रेष्ठले मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा प्रदेश सरकारसँग सहकार्य गर्नका लागि इन्सेक तयार रहेको बताउनुभयो ।
नागरिकको अधिकारलाई संरक्षण र न्यायका लागि सरकारसँगै नागरिक संस्थाको भूमिका महत्वपूर्ण रहने उहाँले बताउनुभयो ।
इन्सेक मानव अधिकार पैरवी तथा प्रलेख प्रमुख श्रीराम बजगाइले मानव अधिकार उल्लङ्घनका घटनामा पीडितहरूकाे पक्षमा इन्सेकले आवाज उठाउँदै आएको जानकारी गराउनुभयो ।
उहाँले अधिकारको सुनिश्चितता गर्न सके लोकतन्त्र बलियो बन्ने बताउनुभयो ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले मानव अधिकारका सवालमा इन्सेक र प्रदेश सरकारबिच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
उहाँले मानव अधिकारका विषयमा सरकार र नागरिकबिचको सम्बन्ध बढाउन प्रदेश सरकारबाट मानव अधिकारमैत्री कानुन निर्माण र गुनासो सुन्ने गरी मुख्यमन्त्रीसँग मानव अधिकार कार्यक्रम सञ्चालनका लागि अनुरोध गर्नुभयो ।
टोलीमा अध्यक्ष श्रेष्ठ, पैरवी तथा प्रलेख कार्यक्रम प्रमुख श्रीराम बजगाइ, गण्डकी प्रदेश संयोजक शिव खकुरेल, इन्सेक गण्डकी प्रदेश कार्यक्रम अधिकृत सवनम शर्मा र मधु पन्थी सहभागी हुनुहुन्थ्यो ।