मेलुङ गांउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठमाथि भदौ १२ गते केही स्थानीयले हातपात तथा दुर्व्यवहार गरेको भन्दै गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, बागमती प्रदेशका अध्यक्ष इश्वरचन्द्र पोखरेलले भदौ १३ गते विज्ञप्ति प्रकाशन गरी घटनामा संलग्नलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको हो ।
विज्ञप्तिमा लगातार भएको वर्षाका कारण पालिकाभित्रका कच्ची सडकमा आवागमन अवरुद्ध भएको विषयलाई केही स्थानीयले वहाना बनाई नियोजित रूपमा कार्य स्थलमा रहेका जनप्रतिनिधिमाथि हातपात तथा दुर्व्यवहार गरिएको भन्दै खेद व्यक्त गरिएको छ ।
यसैगरी जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेले पनि आजै एक विज्ञप्ति मार्फत मेलुङ गाउँपालिकाका अध्यक्ष श्रेष्ठलाई केही अराजक व्यक्तिहरूले नियोजित र षडयन्त्रपूर्वक ढङ्गवाट हातपात र दुर्व्यवहार गरेको प्रति निन्दा गर्नु भएको छ ।
विज्ञप्तिमा जनताको काममा लागेका जनप्रतिनिधिलाई हातपात र दुर्व्यवहार गर्ने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै निर्वाध रूपमा जनप्रतिनिधिले जनताको काम गर्ने जातावरण सृजना गरांउन सम्बन्धित पक्षमा ध्यानाकर्षण गराइएको छ ।