भदौ १० गते २ हजार ५२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ५४ हजार ९ सय १५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ १० गते परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ७ सय २ ओटा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ५ हजार ८ सय ९३ जना निको भएका छन् । भदौ १० गते १ हजार ९ सय २९ जना निको भएका छन् भने निको हुनेको दर ९३.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ १० गतेसम्म १० हजार ६ सय ३८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ १० गते २६ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ३ सय ८४ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भदौ १० गते ४ हजार ६ सय ७२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३ सय ८१ जनालाई कोभिड पुष्टि भएको छ । भदौ १० गतेसम्म एण्टिजेन परीक्षणबाट ८१ हजार ९ सय ६८ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ १० गतेसम्म ३९ लाख ४९ हजार ५ सय २९ जनाले पूर्ण खोप पाइसकेका छन् ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा जारी निषेध आदेशको समय भदौ २० गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको भदौ १० गतेको बैठकले निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनु भएको छ ।
रामेछाप प्रतिनिधि नवराज घिमिरेनुसार जिल्लामा जारी निषेध आदेश भदौ २२ गतेसम्म थप गरिएको छ । जिल्लामा कोभिड सङ्क्रमणका बिरामी नघटेकाले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजूले जानकारी दिनुभयो । जिल्ला सुरक्षा समिति र कोभिड सङ्कट व्यवस्थापन केन्द्रको भदौ ९ गते बसैको बैठकको निर्णय अनुसार निषेध आदेश थप गरिएको उहाँले बताउनुभयो । जारी निषेध आदेशको समयमा भेला जुलुस, जात्रा, महोत्सव, भोज भतेर गर्न रोक लगाएको छ । यसैगरी जिल्ला भित्रका सबै शैक्षिक संस्थामा भौतिक उपस्थितिमा हुने पठनपाठनमा रोक लगाइएको छ । अति आवश्यक बाहेकका प्रशिक्षण, तालिम र गोष्ठी गर्न प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक तालिम सञ्चालन गर्नै परे २५ जनामा नबढाइ पूर्ण रूपमा स्वास्थ्य मापदण्डको पालना गरी दुई मिटरको दुरीमा बस्ने व्यवस्था मिलाई सञ्चालन गर्नुपर्ने छ । पसलहरू बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म मात्र खोल्न पाइने छ ।
दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार कोभिड–१९ सङ्क्रमण बढेको भन्दै स्थानीय प्रशासनले सदरमुकाम चरिकोटको लागिमात्र निषेध आदेश केही खुकुलो बनाउँदै जिल्ला भर अनिश्चितकालीन रुपमा थप गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को भदौ ९ गतेको बैठकले कोभिड ङ्क्रमण नघटेको भन्दै सरकारले तोकेको मापदण्ड पालना गरी जिल्लामा बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म मात्रबजार खुल्लागर्ने भएको छ । प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार जिल्लामा कुनै पनि सभा सम्मेलन गर्न, विद्यालय सञ्चालन गर्न र धार्मिक स्थल खुल्ला गर्नुका साथै भीड हुने गरी धार्मिक तथा सांस्कृतिक कार्यहरु गर्न भने पूर्ण रूपमा रोक लगाईएको छ । आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरी निजी तथा सार्वजनिक यातायाताका साधानभने सञ्चालन गर्न पाइने भएको छ ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालयले निषेध आदेश खुकुलो बनाएको छ । भीडभाड हुने सरकारी कार्यालयहरु आलोपालो प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको छ । प्रशासनले भदौ १० गते जारी गरेको आदेशमा अर्को निर्णय नभएसम्मका लागि जिल्लाका सबै सरकारी कार्यालयहरुले बार र स्थानीय तह अनुसार सेवा दिन भनेको छ । कोभिडका सङ्क्रमितको सङख्या दैनिक १ सय भन्दा कम भएको प्रशासनले जनाएको छ । विशेष त प्रशासन र मालपोत जस्ता कार्यालयहरु बार र स्थानीय तह वडा अनुसार भीडभाड नहुने प्रबन्ध मिलाई आलोपालोमा सञ्चालन गरिने प्रशासनले निर्णय गरेको छ । यसअघि बढी भीडभाड भएको जनगुनासो बढे पछि प्रशासनले मालपोत, यातायातलगायतका कार्यालयबाट दैनिक सेवा प्रवाह बन्द गरेको थियो
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ ९ गते एक सूचना जारी गर्दै जिल्लामा जारी रहेको निषेध आदेश आठ दिन थप भएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड सङ्क्रमण दर र मृत्युदरमा बृद्धि आएको भन्दै जारी निषेध आदेशलाई भदौ १० गते राति १२ बजेदेखि भदौ १८ गते राति १२ बजेसम्मको लागि लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी आदेश अनुसार सार्वजनिक तथा नीजि सवारी साधनमा जोर विजोर प्रणाली यथावत रहेको छ ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार जिल्लामा जारी निषेध आदेश भदौ १८ गते राति १२ बजेसम्म थप भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको भदौ १० गते बसेको बैठको सिफारिसमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले भदौ ११ गते राति ११ बजेबाट एक साताका लागि निषेध आदेश जारी गर्नुभएको हो । निषेध आदेशको अवधिमा नीजि तथा सार्वजनिक सवारीलाई जोर बिजोर प्रणाली लागु गरिएको छ ।
स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार जिल्लामा जारी रहेको निषेध आदेश भदौ २५ गतेसम्म थप भएको छ । स्याङजा प्रमुख जिल्ला अधिकारीद्धारा भदौ १० गते जारी गरिएको आदेश अनुसार जिल्लामा जारी निषेध आदेश भदौ १० गते राति १२ बजे देखि भदौ २५ गते राति १२ बजेसम्म थप भएको छ ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार जिल्लामा कोभिडबाट सङ्क्रमित हुनेको सङ्ख्यामा बृद्धि भएकोले जिल्लामा जारी रहेको निषेध आदेश थप भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको भदौ १० गते बैठकको सिफारिसको आधारमा जिल्लामा जारी रहेको निषेध आदेश भदौ १० गते राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मलाई थप भएको जिल्ला प्रशासन कार्यालयले भदौ १० गते एक सूचना जारी गर्दै जानकारी दिएको छ ।