INSEC Online

📅 २०८३ जेष्ठ २१

मधेसी मोर्चाले आह्वान गरेको बन्दले जनजीवन प्रभावित

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले फागुन ११ गते आह्वान गरेको बन्दका कारण तराई मधेसका जिल्लाहरूको जनजीवन प्रभावित भएको छ ।

इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयका अनुसार बन्दको प्रभाव पूर्व पश्चिम राजमार्गको दक्षिण क्षेत्रमा रह्यो भने राजमार्ग तथा राजमार्ग उत्तर क्षेत्रमा बन्दको समान्य प्रभाव रहेको महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लाका इन्सेक जिल्ला प्रतिनिधिहरूले बताएका छन् । बन्दका कारण राजमार्ग दक्षिण क्षेत्रमा सवारी साधन ठप्प रहे भने शिक्षण संस्था, कलकारखना, बजार तथा वित्तीय संस्थाहरू बन्द रहे ।

इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजय कुमार साहका अनुसार मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दका कारण जिल्ला सदरमुकाम जलेश्वरबाट पूर्वपश्चिमका लागि चल्ने छोटो तथा लामो दुरीका सवारी साधनहरू सञ्चालन भएनन् । मोर्चाका कार्यकर्ताहरूले जलेश्वरको प्रमुख चोकहरूमा बिहानैदेखि प्रदर्शन गरेका कारण बजार, शिक्षण संस्थाहरूसमेत बन्द रहेका थिए ।

Photo20170222Mahottari

इन्सेक बारा जिल्ला प्रतिनिधि लक्ष्मी साहका अनुसार बन्दका कारण व्यापार व्यवसायलगायत शैक्षिक संस्था ठप्प रहे । उद्योग, कलकारखाना, शैक्षिक संस्था, ग्रामीण तथा शहरी यातायात ठप्प रहेकाले व्यवसायीसहित सर्वसाधारणहरू मारमा परेका थिए । कलैया, सिम्रौनगढ, कोल्हवी, परवानीपुर, जितपुर, प्रसौनी, गन्जभवानीपुरलगायतका ग्रामीण बजारहरू बन्द रहे ।

इन्सेक सर्लाही जिल्ला प्रतिनिधि सन्तोषकुमार सिंहका अनुसार मधेस बन्दका कारण जिल्लाको दक्षिणी क्षेत्र ठप्प भएको छ । सदरमुकाम मलङ्गवा, प्रमुख व्यपारी केन्द्र बरहथवा, इश्वरपुर, गोडैता, सिसौटियालगायतका बजार पूर्ण रूपले बन्द भए । राजमार्ग भन्दा दक्षिणका शैक्षिक संस्था, वित्तीय संस्थाहरूसमेत सञ्चालन हुन सकेनन । बन्दका कारण सदरमुकाम र अन्य व्यपारी केन्द्रमा बन्दको प्रत्यक्ष असर परेपनि राजमार्ग क्षेत्रमा खासै प्रभाव परेन । राजमार्ग क्षेत्रका लालबन्दी, हरिवन, नवलपुर बजार तथा वित्तीय संस्था निर्वाध संचालनमा थिए ।

इन्सेक पर्सा जिल्ला प्रतिनिधि केसी लामिछानेका अनुसार बन्दका कारण बीरगञ्जको जनजीवन प्रभावित बन्यो । मोर्चा सम्बद्ध नेता तथा कार्यकर्ताहरूले बीरगञ्जको घण्टाघर, मुर्लीचोक, आदर्शनगर चोक र पावरहाउस चोकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए । बन्दका कारण बजार, कलकारखाना, शिक्षण संस्था र लामो तथा छोटो दुरीका यात्रुवाहक र मालवाहक सवारीहरू चलेनन् । बन्दका क्रममा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।

Photo20170222Parsa

इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार लोकतान्त्रिक मधेसी मोर्चाले फागुन ११ गते गरेको मधेस बन्दका कारण जनजीवन कष्टकर भएको छ । बिहानैदेखि सिरहाको लहानसहित सिरहा, मिर्चैया, गोलबजारका पसलहरू बन्द रहेका छन् भने लामो तथा छोटोदुरीका सवारी साधनहरू पूर्णरूपमा बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी शेखर कोइरालाले मोर्चाको बन्दका कारण बजार, पसल तथा यातायात बन्द भए पनि अन्य कुनै भौतिक क्षति नपुगेको बताए ।

इन्सेक झापा जिल्ला प्रतिनिधि अर्जुन बस्नेतका अनुसार बन्दका कारण झापामा कुनै किसिमको असर परेन । यातायात, शिक्षण संस्था, कलकारखाना तथा बजार सूचारू रहेका छन् ।

इन्सेक मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईका अनुसार मोर्चाको बन्दका कारण मोरङको जनजीवन आंशिक रूपमा प्रभावित भएको छ । विराटनगरमा शिक्षण संस्था ठप्प रहे भने कलकारखाना र यातायातका साधनहरू चल्न सकेनन् । बजारका पसलहरू फाटफुट रूपमा खुलेतापनि मुख्य बजार बन्द नै रहृयो । उर्लावारी, पथरीलगायतका नगरपालिका र गाविसहरूमा भने बन्दको कुनै असर परेन । सो ठाउँमा जनजीवन सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनायो ।

सुनसरी जिल्ला प्रतिनिधि शेखर ढकालका अनुसार बन्दले सुनसरी जिल्लाको जनजीवन आंशिक  प्रभावित भएको छ । दुहवी, इनरुवा, लौकहीलगायतका ठाउँमा शिक्षण संस्था, कलकारखाना तथा बजार पूर्ण रूपमा बन्द रहे भने इटहरी र धरान उपमहानगरपालिकामा भने बन्दको कुनै असर परेन । जिल्लामा अप्रीय घटना पनि नभएको जिल्ला प्रहरी कार्यालयका एसपी पोषराज पोखरेलले बताए ।

सप्तरी जिल्ला प्रतिनिधि मनोहर पोखरेलका अनुसार मोर्चाको बन्द आहृवानका कारण सप्तरीको राजविराज, रुपनी, कञ्चनपुरलगायतका मुख्य बजार पूर्ण रूपमा प्रभावित रहृयो भने यातायातका साधन चलेनन् । बन्दका कारण शिक्षण संस्था समेत ठप्प रहे । मोर्चाका कार्यकर्ताहरूले बन्द अवज्ञा गरेको जनाउँदै राजविराजस्थित जिल्ला शिक्षा कार्यालय र नगरपालिकाको कार्यालय भवनमा ढुङ्गा प्रहार गरी तोडफोड गर्नुका साथै झ्यालका सिसाहरू फुटाएर क्षति पुर्‍याएका छन् ।

Photo20170222Saptari

इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका अनुसार बन्दको अवज्ञा गरेको आरोपमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले फागुन ११ गते नेपालगञ्ज गुलरिया सडक खण्डको  मानपुरमा ना ४ ख २६१७ नम्बरको ट्याङ्कर तोडफोड गरेका छन् । गुलरियाबाट नेपालगञ्ज आउँदै गरेको ट्याङ्करमा मोर्चाका कार्यकर्ताले ढुङ्गा प्रहार गरी अगाडिका सिसा फुटाएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेपालगञ्ज उपमनपा-२३ का उमेश गिरी, सोही ठाउँका मुत्तन गिरी र सिन्क गिरीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी टेकप्रसाद राईले बताए ।

बन्दका कारण जिल्लाका ३ सय ८३ वटा विद्यालयको पठनपाठन प्रभावित भएको छ । बन्दका कारण बजार छिटपुट रूपमा खुलेको थियो । छोटो दुरीका सवारी साधन सञ्चालनमा आएनन् भने लामो दुरीका सवारी साधन सञ्चालन भए ।

इन्सेक बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार फागुन ११ गते बर्दिया जिल्लामा मधेसी मोर्चाको बन्दको सामान्य प्रभाव परेको छ । यातायातका साधनलाई प्रहरीले स्कटिङ् गरी गन्तव्यसम्म पुर्‍याएको छ । मुख्य व्यापारिक केन्द्र गुलरिया, सानोश्री, भुरीगाउँ, बासगढी र राजापुर बजार खुलेका थिए । जिल्लाका ३ सय ८९ सरकारी तथा निजी विद्यालयमा पठनपाठन भएन ।

दाङ जिल्ला प्रतिनिधि जय नारायण पुनका अनुसार मधेसी मोर्चाको बन्दको प्रभाव दाङ जिल्लामा परेन ।

इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार बन्दको क्रममा फागुन ११ गते बिहानैदेखि जिल्ला सदरमुकामवाट छुट्ने लामो तथा छोटा दुरीका सवारी साधन चल्न सकेनन् भने शैक्षिक संस्था, उद्योग धन्दा, कलकारखाना, बजार बन्द रहे ।

बन्दको क्रममा बुधवार बिहान जितपुरवाट तौलिहवातर्फजाँदै गर्दा पत्रकार पार्वती आर्चायलाई ‘पत्रकार हुँ’ भनेर परिचयपत्र देखाउँदा पनि बन्दकर्ताले जहदीमा केहीबेर रोकेर मानसिक त्रास देखाएको र आफूलाई साँझ ५ बजेसम्म बस्न दबाव दिएको पीडितले बताईन् । सो घटनाको जानकारी प्राप्त भएपछि इन्सेक जिल्ला प्रतिनिधि तथा सञ्चारिका समूहका प्रतिनिधिलगायतका अधिकारकर्मी तथा पत्रकारको टोलीले बन्दकर्तालाई पीडितको यात्रा नरोकिदिन आग्रह गरेपछि आर्चायलाई एक घण्टापछि छाडिएको थियो ।

जिल्लाका तौलिहवा, जहदी, पकडीलगायतका स्थानमा बन्दकर्ताले टायर बालेर केहीबेर प्रदर्शनसमेत गरेका थिए । बन्दले शैक्षिक संस्था बन्द हुँदा विद्यार्थीहरू पढ्न पाउने अधिकारबाट वञ्चित भए भने यातायात बन्दले सिमाना पारीबाट नेपाल आउने तथा भारततर्फजाने यात्रुहरूसमेत प्रभावित बनेका छन् ।

इन्सेक नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार बन्दका कारण जनजीवन कष्टकर रह्यो । सदरमुकाम परासी आसपासका दक्षिणी क्षेत्रमा बन्दको प्रभाव बढी रहेको भएपनि पूर्व पश्चिम महेन्द्र राजमार्गमा सवारी साधन निर्वाध सञ्चालन भएका छन् । बन्दका कारण जिल्लामा शैक्षिक संस्था, कलकारखाना भने पूर्ण रूपमा ठप्प रहे ।

इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा विसीका अनुसार बन्दको प्रभाव आंशिक रूपमा रह्यो । सदरमुकाम भैरहवामा यातायात सञ्चालनमा मोर्चाका कार्यकर्ताहरूले अवरोध पुर्‍याएपनि बुटवल आसपासका क्षेत्रमा भने निर्वाध रूपमा सवारी साधन चलेका थिए । बन्दका कारण जिल्लाको शैक्षिक क्षेत्र र औद्योगिक क्षेत्र भने प्रभावित बन्यो ।

अन्य

भिडियो